एजेन्सी ।
महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । बुधबार राति हृदयाघातबाट उनको निधन भएको छ । ६० वर्षीय उनी लामो समयदेखि बिरामी थिए । गत महिना मात्रै उनको मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।
अर्जेन्टिनाका राष्ट्रपति अर्बेटो फर्नान्डेजले म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन् । विश्व फुटबल महासंघ ९फिफा० ले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । म्याराडोनालाई विश्व फुटबलमै उत्कृष्ट मिडफिल्डर मानिन्छ ।
विश्वकपबारे कसैले चर्चा गर्दा १९८६ को विश्वकप छुटाउन सक्दैन । जसमा म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि मात्र दिलाएनन्, हातले गोल गरेर पनि संसारलाई चकित बनाए । उनी आफैँले त्यसलाई ‘ह्यान्ड अफ गड’ भनेका छन् ।
क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध म्याराडोनाले गरेको हातेगोल अत्यधिक चर्चित र विवादास्पद बन्यो । यही विश्वकपमा उनले इंग्ल्यान्डविरुद्धकै खेलमा मैदानको मध्यभागबाट ६ जना खेलाडीलाई छक्याउँदै बल लगेर उत्कृष्ट गोल गरेका थिए, जुन विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट गोलका रूपमा मानिन्छ । सो विश्वकपमा म्याराडोनाले गोल्डेन बुट जितेका थिए ।
सन् १९९० मा इटालीमा भएको विश्वकपमा म्याराडोनाले अर्जेन्टिनालाई पुनः एकपटक फाइनलसम्म पु¥याए । ब्याक टु ब्याक विश्वकपको फाइनल पुग्दा म्याराडोना नै नायक बने । तर, फाइनलमा तत्कालीन पश्चिम जर्मनीसँग १–० ले पराजित हुँदा म्याराडोनाको दोस्रोपटक विश्व च्याम्पियन हुने सपना तुहियो । त्यसपछि चोट र कोनिकका कारण उनले पुरानो जादुमयी खेलको लय समात्न सकेनन् । १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्दै म्याराडोनाले ९१ खेलमा ३४ गोल गरेका छन् ।
बार्सिलोना र नापोलीबाट क्लब फुटबल खेलेका उनले इटालियन क्लबका तर्फबाट २ उपाधि उचालेका थिए । म्यारोडोनाको निधनले विश्व खेल क्षेत्र स्तब्ध बनेको छ। विश्व चर्चित व्यक्तिहरुले उनीप्रति समवेदना प्रकट गरिरहेका छन्।
उनले आफ्नो ३७ औँ जन्मदिनका अवसरमा सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। पछि उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक समेत बनेका थिए ।
दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।
सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना मात्र उनले ६०औं जन्मदिन मनाएका थिए ।
अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।
यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए ।
म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए ।