सुर्खेत ।
असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ ।
रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह(प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख उपसचिव जीतबहादुर शाह र डा. वुद्धि सापकोटाको नाम मात्र सार्वजनिक गरेको छ । केही व्यक्तिहरुको नाम सार्वजनिक भइसके पनि विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले गोपनीयताका कारण सबैको नाम सार्वजनिक नगरिएको बताए ।
नाम सार्वजनिक भएपछि उनीहरु आफ्नो पक्षमा माहोल बनाउन शक्ति केन्द्र धाउन थालेका छन् । सार्वजनिक भएका व्यक्तिमध्ये बाटै रजिस्ट्रार बन्ने आकलन गरिएको छ । मुख्य प्रतिस्पर्धीको रूपमा सेवा आयोगका सदस्य तथा विज्ञान संकायका पूर्वडीन केशरसिंह रानालाई हेरिएको छ ।
राना यसअघि उपकुलपतिको दौडबाट बाहिरिनुभएको हो । राना अनुभव र कार्यसम्पादनको हिसाबले आवेदन दिएका अरुभन्दा वरिष्ठ हुन ।
विश्वविद्यालयको आधार क्याम्पसको रुपमा रहेको पब्लिक साइन्स क्याम्पसको प्रमुख रहिसकेका राना विश्वविद्यालयको डीन हुँदै सेवा आयोगको सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन ।
यता, उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले अर्थशास्त्रमा अब्बल पात्रलाई रजिस्ट्रारको लागि सिफारिस गर्ने बताउँदै आउनुभएको छ ।