कालिकोट । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण कालिकोट जिल्लाको तिलागुफा पर्यटकको पर्खाइमा छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी तिलागुफा ओडारको तिलागुफा नगरपालिकाले पहल शुरु गरेको छ । तिलागुफा नगरपालिका वडा नं.५ मा पर्ने गुफा संरक्षणका लागि स्थानीय सरकार जुटेको हो ।
नगरपालिकाको नामकरण नै यही गुफाको नामबाट भएको गुफामा पर्यटक भित्र्याउने उद्देश्यले तिलागुफा नगरपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरेको तिलागुफा नगरपालिकाका नगर प्रमुख रतन बहादुर शाहीले बताए । उनका अनुसार आफ्नो नगरपालिकाको प्रमुख पर्यटकीयस्थल यो गुफालाई देश तथा विदेशमा चिनाउन प्रचारको पहिलो आवश्यकता रहेको बताए । ‘कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल घुम्न आउने पर्यटकहरुले यो गुफा घुमेर जान सक्ने भएकाले पुर्वाधारमा पहिलो प्रथामिकतामा राखेर पैदल बाटो निर्माण सम्पन्न गरेका हौँ । अब पर्यटकको आवश्यकता छ’, उनले भने ।
नगरपालीकाको केन्द्रदेखि गुफासम्म जोड्ने पर्यटकीय सडकलाई वडा नं ५ को केन्द्रबिन्दु दान सम्म पु¥याउने काम भइरहेको छ । वडा अध्यक्ष टिकाराम न्यौपानेका अनुसार नगरपालिकाको समन्वयमा तिला संरक्षण समिति मार्फत वनभोजस्थल, प्रतिक्षालय र ताल वरिपरि पैदलमार्ग निर्माण उपभोक्ता समिति मार्फत भइरहेको छ । निर्माण सम्पन्न गरिएको छ । आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । अब बाह्य पर्यटकको खाँचो रहेको बताए ।
गुफाको पर्यटन प्रवद्र्धनका लागि जिल्लाबाट गुफाको अवलोकनका लागि आन्तरिक पर्यटकहरु जानेक्र्म बढ्दो रहेको छ । गुफाको अवलोकन गर्न आउने पर्यटकका लागि तिला नदीमा डुंगा निर्माण गर्ने पनि बताउँदै अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचार प्रसार गर्न थालिएको बताए । प्राकृतिक धार्मिक महत्व बोकेको सो गुफाको लम्बाइ ४० मिटर तथा चौडाइ करिब ३ मिटर रहेको छ । सो गुफाको बनावट प्राकृतिक रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नको लागि सडक व्यवस्थापन गर्नुपर्ने तिलागुफाका मेयर रतन बहादुर शाहीले बताए ।