ऐतिहासिक धरोहरको विशेषता बोकेको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १० स्थित रजस्थल गाउँमा रहेको ढोर राज्य एक ऐतिहासिक स्थानका रुपमा चिनिन्छ । तत्कालिन तनहुँ जिल्लाको ढोरफिर्दी गा.वि.स वडा नं. ९ मा अवस्थितरहेको ढोर दरवार एक ऐतिहासिक स्थलको पहिचान दिइ राखेको छ। साबिक ढोरफिर्दी,ढोर फिरफिरे र ढोर राइपुर गरी तीन गा.वि.स ढोर राज्य थियो । त्यो बेलाको समयमा जम्मा २००० घरधुरी भएको हुनाले ढोरलाई दुई हजार ढोर भन्ने गरेको पाइन्छ ।समुन्द्रि सतहबाट १२७० मिटरको उचाईमा रहेको उक्त स्थान एक ऐतिहासिक, पौराणिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान मानिन्छ । नेपालमा यस्ता ऐतिहासिक तथा पर्यटकीय स्थल धेरै नै रहेका छन्। तिनीहरुको संरक्षण र प्रचारप्रसारको कमीले ओझेलमा परेका छन् । यो स्थान पनि ऐतिहासिक दृष्टिकोणले असाध्यै महत्त्व बोकेको ठाउँ हो । तनहुँ जिल्लाको रजस्थल भन्ने स्थानमा बाइसे चौबिसे राज्य भएको बेला ढोर राज्य पनि एक शक्तिशाली तथा प्रभावशाली राज्यका रुपमा स्थापित राज्य हो ।ढोर राज्यमा प्रारम्भदेखि खाँण बंशले शासन गरेको पाइन्छ । वास्तवमा ढोर राज्यमा खाँण बंश कसरी आइ पुगे भने १४ औँ शताब्दीमा भारतको राजस्थान प्रान्तको मेवाङ जिल्लाको चित्तौडगढबाट मुसलमानसँग पटक पटक आक्रमणमा परे पछि पाल्पा हुदै गण्डकी नदीको रिडी लसर्घामा आइ बसेको पाइन्छ । हालको प्रसिद्ध आलमदेवी मन्दिर समेत रहेको लसर्घा स्याङ्जा जिल्लामा पर्दछ । ढोर राज्य प्रारम्भमा अलगै नभइ भीरकोट राज्य अन्तरगत गह्रौकोट र ढोर गरी विभाजन गरेको इतिहासमा भेटिन्छ। गह्रौकोट राज्य र ढोर राज्यमा दुई भाइ कर्ण खाँण र दशरथ खाँण (द्धितीय) ले राज्य गरेको पाइन्छ । ढोर राज्य स्थापना दशरथ खाँणले गरेकाले ढोर राज्यको प्रथम राजाका रुपमा इतिहासमा उनको नाम उल्लेख गरिएको छ । ढोर राज्यको राजधानी रजस्थल रहेको पाइन्छ ।वि.स १८३७ सालदेखि गोरखा राज्यले ढोर राज्यलाई पटकपटक आक्रमण गर्दाहराउन सकेन । ढोर राज्य भौगोलिक हिसावमा सुरक्षित अग्लो स्थानमा रहेकाले आक्रमणमा गोरखा राज्यलाई हराउन गाह्रो पर्यो । त्यस पछि गोरखा राज्यले चलाखी गर्दै ढोर राज्यलाई एउटा पत्र लेखी कास्की जिल्लामा रहेकोकास्कीकोट जितेर हामीलाई दियौ भने हामी आक्रमण गदैनौ भने पछि ढोर राज्य कास्कीकोट आक्रमण गर्न हिड्यो । उता गोरखा राज्यले ढोर राज्य कास्कीकोटसँग लड्न आउने कुराको जानकारी गराइ सकेको थियो । ढोर राज्य जब कास्कीकोट आक्रमण गर्न जादा कास्की जिल्लाको साबिकको भरतपोखरी गा.वि.स को जयरथ किल्लामा दुबै राज्यको आक्रमणमा परि अधिकांश ढोर राज्यका सैनिकहरुको मृत्यु भइ युद्घ हारेको पाइन्छ ।ढोर राज्यले युद्घ हारेपछि मरणोपरान्त स्वरुपतनहुँ जिल्लाको फिर्दीफाँट र सुरौदीफाँटमा ४०० रोपनी जग्गा दिइएकोपाइन्छ । त्यसपछि केही बाँच्न सफल भएका सेनाहरु तनहुँजिल्लाको फिर्दीफाँटमा आएर बसे र यसरी कपटमा परी ढोर राजाहरुले राज्य हारे पछि वि.स १८३८ मा गोरखा राज्यमा विलय भएको पाइन्छ ।
ढोर राज्य फिर्दीफाँटदेखि उत्तरको अग्लो रमणिय डाँडामा रहेको कोट किल्लामा अवस्थित स्थान हो । यो राज्यमा रहेका अवशेष अहिले प्रमाणका रुपमा काम गरेका छन् । यि भेटिएका पौराणिक तथा ऐतिहासिक बस्तुहरुको संरक्षण तथा सम्बद्र्धधन आजको आवश्यकता भएकाले ढोर दरबारसंरक्षण एंवम पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँण ठकुरीको नेतृत्वमा संरक्षणको अभ्यास भई राखेको पाइन्छ। उक्त राज्य रहेको स्थानबाट तनहुँका दश ओटै वडा तथा कास्की, स्याङ्जा, नवलपरासी, पर्वत लमजुङ लगायतका जिल्लाको पनि केही भू–भाग अवलोकन गर्न सकिन्छ । रजस्थलको डाँडाबाट कास्की जिल्लामा अवस्थित माछापुच्छे, अन्नपूर्ण, नीलगिरी हिमालको रमणीय दृश्यावलोकन लोभ्याउने खालको छ । उक्त हिमालको सेतो मोती जस्तो छरिएको हिउँको सेताम्मे हिमालले अझै ढोर राज्य रहेको स्थान रजस्थललाई झनै रमणीय मनमोहक तुल्याएको छ । ढोर राज्य रहेको स्थान वरिपरि व्यवस्थित रिसोर्ट सेन्टर स्थापना गरी पर्यटन प्रबद्र्धन गर्न सकेको खण्डमा ढोर दरवारको प्रचारप्रसारमा थप सहयोग पुग्न सक्ने अवस्था देखिन्छ । ढोर दरबारको नजिकै रहेको रजस्थल गाउँमा बसोबास गर्ने गुरुङ, मगर, दलित, ठकुरी र तामाङ समुदायको स्तरोन्नति तथा बस्ती पलाएन हुदै जाने क्रमलाई रोक्नका लागि भए पनि यहाँको दरबारलाई बचाइ राख्न आवश्यक रहेको देखिन्छ । यहाँका पुरातात्विक बस्तुहरुको संरक्षण प्रबद्र्धन गर्नका लागि स्थानीय व्यक्तिहरु प्रयत्नरत छन् तर यसले मात्र पूर्णता दिन सकिने अवस्था छैन । यस ऐतिहासिक स्थान भित्र खाँण राजाहरुको दरबार, खड्ककालिका मन्दिर, देउती बज्यै मन्दिर, भैरव मन्दिर, टक्सार खानाका अवशेष अहिले पनि रहेका छन् । यस दरबार भित्र रहेका बस्तुहरुको आ–आफ्नो महत्त्व देखिन्छ । यिनीहरुको संरक्षणमा अभाव देखिदै आएको छ । यसमा राज्यको दृष्टि पूर्ण रुपमा पर्न आवश्यक देखिन्छ।

ढोर दरबारः
ढोर दरबार चौबिसे राज्य अन्तरगतको खाँण राजाहरुले निर्माण गरेको दरबार हो । उक्त दरबारको लम्बाइ१६ मिटर र चौडाइ १६ मिटरमा फैलिएको छ । पहिला दरबारको भग्नावशेष मात्र रहेकोमा २०६८ सालदेखि संरक्षण र मर्मतको कार्य थालनी गरिएको रहेछ । यो दरबार निर्माणमा भक्तपुरे इट्टाको प्रयोग गरी ४ कोठाको नमुना दरबार बनाइएको छ ।बाइसे चौबिसे राज्य विभाजनका बेला ढोर दरबार ४÷४ कोठाको ३ तले दरबार रहेको स्थानीयहरु बताउन्छन् । यस राज्यमा १३ पुस्ताले शासन गरेको पनि पाइन्छ । त्यस पछि गोरखा राज्यमा गाभिएको थियो भन्ने कुरा इतिहासमा लेखिएको छ । हाल यस दरबारको पूर्णरुपमा निर्माण हुन नसके पनि यसको पौराणिक स्वरुप झल्काउने काम निर्माण समितिले गरेको पाइन्छ ।
कोत घरः
बाइसे चौबिसे राज्यका पालामा ढोर दरबारका राजाहरुले हातहतियारको संरक्षण र भण्डारणका लागि हतियार राख्ने घरलाई कोत घर भनिने रहेछ । कोत घर ढोर दरबारका राजाहरुले आफ्नो राज्यका लागि चाहिने हातहतियार भण्डार गर्ने ठाउँ रहेछ । राजाहरुले प्रयोग गरेको हातहतियार वि.स २०१५ सालसम्म कोत घर भित्र जस्ताको तस्तै रहेको स्थानीयहरु बताउँन्छन् । अहिले उक्त कोत घरलाई पुनः निर्माण गरि बाँकी रहेका तरबार, खुडाहरु जस्ता हतियारहरुको सुरक्षाको अभ्यास गरिन थालिएको पाइन्छ । केही संरक्षणकोअभावका कारण हराएर गएको पाइयो। यस्ता पुरातात्विक धरोहरका बस्तु राज्यले संरक्षण गर्न नसकेको खण्डमा पक्कै एक दिन लोप भएर जाने निश्चित देखिन्छ । राज्यले यस्ता बस्तु र स्थानका सुरक्षाको जिम्मा लिनु पर्दछ ।
खड्गकालिका मन्दिर :
खड्गकालिका मन्दिर आफ्नै विशेषता बोकेको मन्दिर हो । चौबिसे राज्यका राजाहरुको कुलदेवताको पुजा गर्ने मन्दिरका रुपमा चिनिन्छ । तत्कालीन राजाहरुले आफ्नो कुलदेवताको रुपमा खड्गकालिकालाई मान्ने गरेको पाइन्छ । हाल उक्त मन्दिरलाई करिव ३ लाख खर्च गरी पुनः निर्माण गरिएको छ । मन्दिर सानो भए पनि तीन तलाको आठ झ्याल र एक ढोका रहेको छ । बनावटका हिसावले सानो देखिए पनि यसले ढोर राज्यको धार्मिक आस्थालाई झल्काउने काममा ठूलो सहयोग गरेको छ । नेपाल धर्म निरपेक्षराष्ट्रघोषणा गरे यता धार्मिक महत्त्वका मठमन्दिर देवालयहरु विस्तारै लोप हुदै जाने क्रम बढि रहेको छ । यस्ता पौराणिक तथा धार्मिक स्थलको संरक्षण संम्बद्र्धन गर्न नसकेको खण्डमा नेपालका धार्मिक स्थलको अस्थित्व ओझेलमा पर्ने सम्भावना पनि उत्तिकै छ ।
देउती बज्यै मन्दिर :
यो मन्दिर तत्कालीन राजाकी रानी कुण्डलावती चट्याङ्गमा परी परलोक गएको सम्झनामा स्थापित मन्दिर हो । राजाले विवाह गरी गृह प्रवेश गर्ने वेला ढोकामा एउटा खुट्टा भित्र र अर्को बाहिर भएकै बेला चट्याङ्गमा परी रानीको मृत्यु भएको इतिहास भेटिन्छ । रानीको सम्झनामा राजाले आफ्नो मन शान्ति पार्ने हेतुले देउती बज्यै मन्दिर स्थापना गरेको पाइन्छ । मन्दिरमा अहिले पनि स्थानीयवासी विशेष गरी खाँण वंशहरुले पुजाआजा गर्ने चलन रहेको पाइन्छ । यस मन्दिरमा हरेक बर्षको बैशाख र मंसिरमहिनामा भेडाभेडीको बलिर साउन महिनामा खिर पकाएर पुजाआजा गरी देउती पुजामा होमन गर्ने चलन अहिले पनि खाँण वंशले गर्ने गरेको पाइन्छ । देउती पुजाआजा गर्दा घरमा शान्ति छाउने धार्मिक मान्यता पनि रहदै आएको छ ।
भैरव मन्दिर :
यस मन्दिरमा सुँगुरको बली दिइ पुजा गर्ने चलन रहेको छ । विशेष गरी अष्टमीको दिनमा मगर जातिको पुजारीले भैरवको पुजा गर्ने चलन चल्दै आएको पाइन्छ । यस मन्दिरमा ढोर राज्यका राजाहरु मुसलमानबाट लखेटिएर आएपछि सुँगुर काटेर बली दिदा मुसलवान राज्यमा आक्रमण गर्न आउन नसक्ने विश्वास भएकाले सुगुँरको बलि दिने चलन चल्दै आएको पाइन्छ ।हाल कुखुराको समेत बलि दिने चलन रहेको छ ।
टक्सार खाना :
ढोर दरवारलाई चाहिने रुपैया यही टक्सार खानामा छाप्ने र नजिकका छिमेकी राज्यमा समेत पठाउने गरेकोजनश्रुति रहेको छ साथै राज्य सञ्चालन खर्च गर्नका लागि ढोर दरबार भित्र पैसा छाप्ने गरेको इतिहास पनि भेटिन्छ । यस टक्सार खानाबाट छापिएका पैसाहरु अन्य राज्यमा समेत पठाउने गरेको इतिहास भएको स्थानीयहरु बताउँदै आएका छन् ।
रजस्थल गाउँको संस्कृति तथा होमस्टे :
ढोर दरबार नजिक रहेको रजस्थल गाउँ आफ्नै मौलिख पहिचान बोकेको स्थान हो । यस गाउँमा विभिन्न लोक संस्कृतिहरु रहेका छन् । यहाँ विभिन्न चाडपर्व, मेला, उत्सव, सभा समारोह तथा कार्यक्रममा कौरा, सोरठी, मारुनी, झ्याउरे नाच जस्ता थुप्रै कला प्रर्दशन गर्ने चलन रहेको पाइन्छ । यस क्षेत्रमा प्रख्यात रहेको स्थानीय स्तरमा उत्पादित कोदोको ढिडो, कोदोको रक्सी, लोकल कुखुरा, मह लगाएतका अर्गानिक बस्तुहरु पनि पाइन्छ । नेपाल सरकारले होमस्टेको अवधारणा ल्याएसँगै त्यसको प्रभाव यस क्षेत्रमा समेत परेको देखिन्छ । यस क्षेत्रमा स्थानीयहरुको जीवन स्तर सुधार गर्ने उद्देश्यका साथ रजस्थल सामुदायिक होमस्टे व्यवसायिक तरिकाले सञ्चालनमा आएको पाइन्छ । यहाँ आउने पाहुनाको स्वागतका लागि स्थानीय स्तरमा उत्पादित लोकल कोदोको रक्सी, ढिडो, लोकल कुखुरा, मह जस्ता उत्पादित बस्तुहरुको स्वाद लिन चाहने पाहुनालाई स्वागत गर्ने चलन रहेको पाइन्छ । होमस्टेमा आउने पाहुनालाई विभिन्न कला सस्कृति झल्काउने नाचगानका माध्यमबाट मनोरञ्जन गराउने पनि गरेको पाइन्छ । व्यवसायिक रुपले सञ्चालन भएको होमस्टेका कारण मान्छेको चाप दरबार क्षेत्रमा बढ्दै गए पनि दरबारको मौलिख संरचनालाई पूर्णता दिन नसकेका कारण अस्थित्वमा अझै आउन सकि राखेको छैन । त्यसैले यस दरबारको पुनः संरचनामा राज्यले समयमै ध्यान पुर्याउन सकेको खण्डमा स्थानीय जनताले रोजगारी पाउने अवस्था सुनिश्चित हुने देखिन्छ । यदि बेलैमा यस दरबार क्षेत्रको संरक्षण गर्न नसकिएको खण्डमा बस्ति तथा दरबारको अस्तित्व हराउँदै जाने अवस्था देखिन्छ ।
ढोर राज्य आफैमा एक पौराणिक ऐतिहासिक, धार्मिक, साँस्कृतिक हिसावले धनी अनि बलियो राज्यका रुपमा रहेको इतिहास साक्षी रहेको छ । ढोर राज्य तनहुँ जिल्लाको मात्र धरोहर नभइ नेपालकै धरोहर भएकाले राज्यको दृष्टिकोण बेलैमा पुग्न आवश्यक देखिन्छ । ढोर राज्यलाई संरक्षण गर्ने प्रयास स्थानीय निकाय र स्थानीयवासीले गर्न खोजे पनि राज्यको नजर नपुगेसम्म अस्तित्वमा आउन गाह्रो हुन्छ । गौरवमय इतिहास बोकेको राज्यलाई संरक्षण संम्बद्र्धन गर्ने दायित्व राज्यको नै हुन्छ । नेपालमा संरक्षणकोपर्खाइमा रहेका यस्ता पौराणिक स्थानहरु थुप्रै रहेका छन् । राज्यको दृष्टिकोण यस्ता क्षेत्रमा पुग्न सकेको खण्डमा नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा ठूलो योगदान पुग्ने देखिन्छ । नेपाल सरकारले यस्ता पुरातात्विक बस्तुको बेलैमा सम्भार गर्न कुनै कसर बाँकी राख्नु पनि हुदैन । पृथ्वी राजमार्ग अन्तरगत तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं.४ दुलेगौडाबाट करिब १२ किलो मीटर र मान्द्रे बजारबाट ६ किलो मीटर मात्र टाढा रहेको ढोर दरबारमा राज्यको नजर आजसम्म पूर्णरुपमा पुग्न नसक्नु बिडम्बना नै हो ।यसको अस्थित्वलाई जोगाइ राख्न राज्यले जिम्मा लिन सकेको खण्डमा नेपालको पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग पुर्याउन सक्ने देखिन्छ ।
लेखक : (चन्दननाथ न.पा. ३ जुम्लाका स्थायी बासीन्दा तिमिल्सिना भगवती सेवा आधारभूत विद्यालय तनहुँका प्रधानाध्यापक हुन् )