सुर्खेत । कालिकोटमा फुटबल प्रतियोगिता हुने भएको छ । आगामी चैतमा कालिकोट जिल्ला फुटबल संघले प्रदेश फुटबल लिगको तयारीका लागि जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सर्वाधिक पुरस्कार राशीको जिल्ला लिग फुटबल प्रतियोगितामा भाग लिन चाहाने पुराना तथा नयाँ क्लबहरुले यहि फाल्गुण १५ गते देखि २८ गतेसम्म कालिकोट जिल्ला फुटबल संघमा क्लव दर्ता गराई सक्नु पर्ने कालिकोट फुटबल संघका अध्यक्ष सुरेश बमले जानकारी दिए ।
टिम दर्ताका लागि ५ हजार शुल्क तोकिएको छ । दर्ता भएका क्लबहरुबीच नकआउट प्रतियोगिता संचालन गरि त्यसबाट छनौट भएका ८ क्लबहरुबीच लिग प्रतियोगिता संचालन गरिने अध्यक्ष बमले जनाए ।
लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबलाइ पुरस्कार स्वरुप पचास हजार नगद सहित,कप मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्ने क्लबलाई पुरस्कार स्वरुप तीस हजार नगद सहित, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने लिगमा प्रवेश गरेका सम्पुर्ण क्लबहरुलाई तयारी लागत स्वरुप दश हजार नगद दिइनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राईकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।