सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने भने दुईजना सल्यानका रहेका छन् । दैलेखको दुल्लु नगरपालिकाका ४ पुरुष, नारायण नगरपालिकाका दुई महिलासहित पाँचजना रहेका छन् भने गुराँस गाउँपालिकाका एक पुरुष रहेका छन् ।
अन्य दुईजना सल्यानको कुमाख गाउँपालिकाका र बनगाड कुपिन्डे नगरपालिकाका युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६१ पुगेको छ ।
आज नै दुई महिलासहित १४ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।
कर्णालीमा २ सय २२ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।