काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिएको छ । गतवर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा शुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो ।
त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजु गर्ने काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका हु्न् । शिक्षा पत्रकार समूहको सोमवार ९१२ साउन०को ‘शिक्षावारे भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ ओटा समूह बनाएर बिहीवारदेखि हार्डकपी र सफ्टकपी रुजूको काम भइरहेको छ । यसै साता नतीजा प्रकाशनको तयारी गरेका छौं ।’
सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतीजा प्रकाशन गर्ने निर्णय लिएको हो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका प्रमुख दीपेन्द्र ढकालले जिल्लाका ३१७ विद्यालयमध्ये १५ ओटाले पूर्णांकभन्दा बढी अंक प्रदान गरेको पाइएको बताए ।
कुनैले सैद्धान्तिक, कुनैले प्रयोगात्मकतर्फको अंक दिन छुटाएको, कतै विषय विवरण गलत भर्ने गरेको पाइएको भन्दै उनले विद्यालयहरू गम्भीर नहुँदा समस्या आएको औंल्याए । ‘विवरण सही नहुँदा तीनओटा विद्यालयको अंक सफ्टवेयरमा अपलोड नै भएन । पछि पत्र लेखेर हार्डकपी नै बोर्डमा पठाउनुपरेको उनले बताए ।