भुमिराज अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको लागि भन्दै ६ वूंदे प्रस्ताव अघि सारेपछि नेकपा भित्र एक खालको हलचल मच्चिएको छ । पार्टी विभाजनको खतरा उत्पन्न भैरहेको बेला गौतमले ल्याएको प्रस्ताव मध्यमार्गी भएको भन्दै केही नेता कार्यकर्ताहरु गौतमको प्रशंसा गरिरहेका छन् । गौतमले अघि सारेको प्रस्तावकै अनुसार नेकपाको विवाद साम्य होला ? विवादको शिखरमा रहेका पार्टीका दुई अध्यक्ष र वरिष्ठ नेता माधव नेपाल लगायतले त्यसलाई स्विकार गर्लान् ? त्यो थाहा पाउन अझै केही दिन कुर्नुपर्छ ।
तर, नेकपा विवाद उत्कर्षमा पुगिरहंदा पनि यो विवादको शुरुवात कहांबाट भयो ? त्यो विवाद सृजना गर्न र बल्झाइराख्न कुन कुन नेताहरुले कस्तो भूमिका खेलिरहेका छन् भन्ने बारेमा भने स्वंय नेकपाकै नेता कार्यकर्ताहरु पनि ध्यान दिइरहेको पाइदैन । अर्थात् अहिले नेकपा नेतृत्व मात्र होइन, नेता कार्यकर्ताहरु पनि विवादको चुरो र त्यसको मुख्य पात्रहरुको नियत प्रति वेवास्ता गरिरहेका छन् । यदि कुनै रुखमा रोग लागेर सुक्दै गरेको छ भने त्यसको पातहरु कांटछांट गरेर मात्र रुखमा हरियाली पलाउंदैन, त्यसको लागि जरासमेत सिंगै बोटको उपचार गर्नु पर्छ । ठीक त्यस्तै अवस्था अहिले नेकपामा देखिएको छ । तर, उपचार खोज्ने काम भने सतहमा गरिएको छ । अर्थात टाउको दुखेको औषधि नाइटोमा लाइ भने जस्तै गरिएकोले विवाद सल्टिएको छैन ।
त्यहीकारण यो आलेखमा नेकपाको विवादको मुख्य पात्रहरु र तिनीहरुको नियतको बारेमा स्पष्ट पार्ने प्रयत्न गरिनेछ । हाम्रो उद्धेश्य कुनै नेताको विरोध वा समर्थन गर्नु वा उनीहरुको पक्ष विपक्षमा जनमत सृजना गर्ने प्रयत्न गर्नु भन्दा पनि सत्य तथ्य जानकारी गराउनु हो । यो क्रममा हामीले अहिले देखिएको नेकपाका विवादमा पार्टीका प्रत्येक पदाधिकारीहरुको स्वार्थ र नियतको बारेमा जानकारी गराउने प्रयास गर्नेछौं । यसको पहिलो सृंखलामा केन्द्रमा पार्टी एकताको लागि ६ वूंदे प्रस्ताव अगाडि सारेका नेकपा उपाध्यक्ष वामदेव गौतमले अहिलेको विवादमा खेलिरहेको भूमिका र उनको नियतको बारेमा स्पष्ट पार्ने प्रयत्न गरिएको छ ।
अहिले नेकपामा देखिएको विवादको मुख्य जड अध्यक्षद्धय केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड हुन् भन्नेमा शंका छैन । तर, उनीहरु आफैले त्यो विवाद सृजना गरेका होइनन्, त्यसको पछाडीको मुख्य कारण उपाध्यक्ष गौतम हुन् ।
राजनीतिमा लागेको मान्छे प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लालसा राख्नु स्वभाविक हो । गौतममा पनि त्यो चाहाना हुनु अस्वभाविक होइन । तर, गौतममा त्यो लालसा यति धेरै छ कि त्यसको लागि उनले जे पनि गर्न सक्छन् भन्ने कुरा उनको विगतले स्पष्ट पार्छ । तर्क र वौद्धिकताले भन्दा पनि मुढे बलको आधारमा काम गर्ने स्वभाव भएका गौतम २०५१ सालमा तत्कालिन नेकपा एमालेको अल्पमतको सरकार बनेपछि पार्टीको उपमहासचिव बने । तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधव नेपा उपप्रधानमन्त्री सहित रक्षा मन्त्री हुनुको साथै धेरै जसो प्रभावकारी नेताहरु मन्त्री बनेपछि गौतमलाई पार्टीको दैनिक कार्य संचालनको लागि उपमहासचिव बनाइएको थियो । उप महासचिव बन्ने वित्तिकै गौतममा सत्ताको भोक यति जाग्यो कि उनी त्यसपछि जसरी पनि माधव नेपाललाई हटाएर आफै पार्टीको नेतृत्वमा पुग्ने प्रयास गरे ।
त्यसैक्रममा २०५४ सालमा एमाले र राप्रपाको सरकार गठन हुंदा गौतम गृहमन्त्री बने । उनी गृहमन्त्री हुंदा साथ त्रिभुवन विमानस्थल लगायतका भंसार नाकाहरुबाट खुलेआमरुपमा अवैध सुनको कारोवारलाई बढाइयो । २०५६ सालमा गठन भएको तत्कालिन सांसद परि थापा नेतृत्वको संसदिय समितिले गौतमको कार्यकालमा भएको सुन तस्करीको भण्डाफोर गर्दै उनीमाथि हदैसम्मको कारवाहीको लागि सिफारिस् गरेको थियो । समितिले कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई पनि त्यही अभियोग सहित कारवाहीको शिफारिस गरेको थियो । समय क्रममा खुमबहादुर खड्कालाई त अख्तियारले कारवाशी गर्यो । गौतम भने अहिलेसम्म कारवाहीमा पर्नबाट बचिरहेका छन् । यदि परि थापा नेतृत्वको संसदिय समितिले दिएको रिपोर्ट कार्यान्वयन गरिएको भए गौतम अहिले या त जेलमा हुन्थे या त जेलबाट रिहा भएर जेपी गुप्ता र चिरन्जिवी वाग्लेहरु जस्तै राजनीतिबाट विश्राम लिएर बसिरहेका हुन्थे ।
तर, संयोग भनौं वा नेपालको शासकिय पद्धतीको कमजोरी, संसदिय समितिले नै किटान गरेर कारवाहीको लागि सिफारिस गर्दा पनि गौतम कारवाही पर्नबाट जोगिदैं मात्र आएका छैनन् । त्यसपछि पनि पटक पटक उप प्रधानमन्त्री बने ।
एमालेबाट सहज रुपमा पार्टी नेतृत्वमा पुग्ने र प्रधानमन्त्री हुने सपना पुरा हुने नदेखेपछि उनले साहाना प्रधानलाई अगाडि सारेर २०५४ सालमा पार्टी विभाजन गराए । तर, २०५६ सालको आम निर्वाचनमा देशभरिबाट एक सिट पनि जित्न नसकेपछि उनले त्यसको केही महिनामै आफ्नो पार्टी नेकपा मालेलाई एमालेमा विलय गराए । पार्टी विभाजन गर्दा महाकाली सन्धीको विवादलाई निहुं बनाएका गौतमले त्यसपछि ओली, माधव नेपाल लगायतका तत्कालिन एमाले नेताहरु माथि लगाएको आरोप स्मरण गर्ने हो भने मानिसहरु गौतमले त्यस्तो पनि बोलेका थिए भनेर जिब्रो टोक्छन् । त्यतिबेला उनले एमाले नेताहरु माथि बोली र लेख, अन्तरवार्ताले मात्रै आक्रमण गरेका थिएनन्, भौतिक रुपमा समेत आक्रमण गरेका थिए । गौतमकै निर्देशनमा रुपनारायण श्रेष्ठसहितका तत्कालिन मालेका कार्यकर्ताहरुले बुटवलमा तत्कालिन एमालेको एक कार्यक्रममा सांतिक आक्रमण गर्दा मोदनाथ प्रश्रित, प्रदिप ज्ञवाली लगायतका धेरै नेता कार्यकर्ता मरणासन्न अवस्थामा पुगेका थिए । हालका पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको त करिब १० दिनपछि होस आएको थियो । वालवाल वचेका ज्ञवाली महिनौंसम्म अस्पतालमै रहेका थिए ।
यो घटनालाई सत्ता र शक्तिको उन्मात गौतम कतिसम्म निर्लज्ज हुन सक्छन् भन्ने कुराको दृष्टान्त भएको तत्कालिन एमालेका नेता कार्यकर्ताहरु बताउंछन् । त्यतिमात्र होइन, शुशिल कोइरालाको नेतृत्वमा गृहमन्त्री वन्दा एसएसपी रमेश खरेललाई आफू कहां चाकरी गर्न नआएको भनेर सरुवा गर्ने धम्कि दिएको घटना सार्वजनिक भएको थियो । यसले उनी मान सम्मानका कति भोका छन् भन्ने स्पष्ट हुन्छ ।
हरि पराजुली, शारदा अधिकारी, बलराम वांस्कोटा लगायतका ३,४ जना व्यक्तिहरुको घेरामा रहेर काम गर्ने गौतमले गत आम निर्वाचनमा वर्दियाबाट पराजय भोग्न वाध्य भए । उनले पार्टीका जिल्ला अध्यक्ष श्याम ढकाल लगायतले आफूलाई हराएको भन्दै उनीहरुलाई कारवाही गर्नको लागि निरन्तर दवाव दिंदै आइरहेका छन् । जवकी जिल्ला अध्यक्ष ढकाललाई नै निर्वाचन परिचालनमा सहभागि नगराई पराजुली, अधिकारी र वांस्कोटासहित काठमाण्डौबाट लिएर गएको टिमकै आधारमा चुनाव प्रचारको सम्पूर्ण व्यवस्थापन गरेका थिए । त्यसबाट बर्दियाको पार्टी नेतृत्व मात्र होइन, समर्थक सुभेच्छुकहरुसमेत गौतमसंग आक्रोशित भएका थिए । परिणाम उनी चुनाव हारे ।
चुनाव हार्नुको अर्थ अर्काे चुनाव नहुन्जेल सत्ता र संसदबाट बाहिर बस्नु हो । तर, गौतमले एकातिर आफ्नो हारलाई सहज रुपमा लिनै सकेनन् र त्यसको सम्पूर्ण दोष ढकाल लगायत पार्टीको जिल्ला नेतृत्वलाई लगाए भने निर्वाचित अर्काे प्रतिनिधिलाई राजिनामा गर्न लगाएर आफू संसदमा पुग्ने प्रयास पटक पटक गरे । राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री हुन नसक्ने कानुनी प्रावधानको कारण उनले अर्काे कुनै निर्वाचित प्रतिनिधिलाई मोटो रकम र अन्य कुनै ठाउंमा नियुक्ति दिलाउने प्रलोभन दिंदै राजिनामा गराएर उप निर्वाचनमार्फत आफू प्रतिनिधि सभामा पुग्ने निरन्तर प्रयास गरे । तर, प्रधानमन्त्री बन्ने उनका सवै प्रयासहरु असफल भएपछि उनको ध्यान पार्टीमा केन्द्रित भएको थियो ।
आफूलाई उपनिर्वाचन मार्फत प्रतिनिधि सभामा निर्वाचित गराएर प्रधानमन्त्री बनाउनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवरोध गरेको महसुस गरेपछि उनी ओली, प्रचण्ड र माधव नेपालको बिचमा ‘खेल्न’ थालेका थिए । त्यसको लागि उनले विभिन्न निहुं बनाउंदै ती तीन नेतालाई एक अर्काको विरुद्ध उक्साउन शुरु गरेका थिए । त्यसैको परिणाम अहिलेको नेकपा विवाद हो । विवादको सृंखला हेर्ने हो भने रामविर मानन्धरलाई राजिनामा गराएर सांसद बन्ने आफ्नो प्रयास असफल भए लगत्तैदेखि गौतमले ओली सरकार ढाल्नको लागि प्रयत्न शुरु गरेको स्पष्ट हुन्छ । अर्थात प्रधानमन्त्री बन्ने गौतमको प्रयास असफल हुनु नै अहिले नेकपामा देखिएको विवादको चुरो हो । ओली र प्रचण्डलाई धम्काएर नै पार्टी विधानमै नभएको उपाध्यक्ष पदमा नियुक्त भएका गौतम अहिले पनि धम्काएर नै प्रधानमन्त्री बन्ने धुनमा लागेका छन् ।
वूंदे प्रस्ताव आफै बोक्सी आफै धामी भनेझैं आफैले विवाद सृजना गराएका गौतमको पार्टीका नेता कार्यकर्तामा लोकप्रिय बन्ने प्रयास मात्र भएको नेकपाका नेता कार्यकर्ताहरुको बुझाई छ । त्यसको लागि पार्टीमा विवाद चर्काएर आफैले थामथुम पारेझैं गर्ने र ओली र प्रचण्ड दुवै तिरबाट ‘अबको प्रधानमन्त्री तपाई नै पक्का’ भन्ने सुनिश्चितता खोजिरहेका छन् । उनले अगाडि सारेको सहमतीको ६ वूंदे प्रस्तावमा त्यसबारेमा कुनै कुरा उल्लेख नभए पनि अनौपचारिक रुपमा उनले ओलीबाट त्यो आश्वासन पाइसकेको र अब नेपाल, प्रचण्ड तथा झलनाथ खनाल र महासचिव विष्णु पौडेललाई समेत राखेर उनले भावि प्रधानमन्त्रीको रुपमा आफ्नो नाममा निश्चित बनाउन खोजिरहेका छन् । त्यसको लागि उनी दिनहुं जसो गुट बदलिरहेको छन् । एक सातामा २ दिन ओली निकट, २ दिन प्रचण्ड निकट, २ दिन माधव नेपाल निकट बन्दै आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयास गरिरहेका छन् । तर, सबै नेताहरुबाट सर्वसम्मत रुपमा अहिले नै गौतमलाई प्रधानमन्त्रीको सुनिश्चितता गर्न सक्ने संभावना निकै कम देखिएको छ । त्यसैले गर्दा गौतमले अगाडि सारेको ६ वूंदा र उनको प्रधानमन्त्री बन्ने सपना के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । तर, त्यसको परिणाम जे भए पनि नेकपाको पार्टी राजनीति भने पूर्णरुपमा गिजोलिएको छ र त्यो सहजै संग्लो हुने संभावना देखिदैन ।