नेपालले बार्षिक उपभोग्य वस्तुमा एक तथ्यांकअनुसार २३ खर्ब खर्च गर्ने गर्दछभने दशै, तिहारजस्ता चाडवाडमा मात्र अरवौँको उपभोग्यवस्तु आयात गर्ने गरिन्छ । नेपालमा कृषिजन्य कमोडिटी उत्पादनमा वाइन पनि एक पर्दछ । नेपाली वाइन उद्योगमा पनि विदेशी आयातको निकै ठूलो हिस्सा छ । नेपाली वाइन उद्योगमा क्रियाशील युवा फुडस्पेशलिस्ट भुलन लाखेसँग नेपाली वाइन उद्योगको अवस्था र सम्भाव्यताका बारेमा यार्सान्यूजले कुराकानी गरेको छः
नेपालमा वाइन उद्योगको अवस्था के छ ?
नेपालमा दर्ता भएर चलेका करिव ८५ वटा वाइन उद्योग छन् । यसमध्ये व्यवसायिक उत्पादन गरिरहेका करिव २० वटा उद्योगहरु मात्र रहेका छन् । नेपालको पहिलो वाइन व्यवसायिक व्रान्डिङ भएको डाँडाघरे वाइन हो, जो उद्योग ४० को दशकमामा स्थापित भएको थियो ।
वाइनलाई नेपाली समाजले रक्सी नै बुझ्छ । यो कुन क्याटोगरीको पेय पदार्थ हो ?
अन्नबाट उत्पादन हुने वियर, ह्विस्की, भोडाका र कुहिने प्रकृतिको फलफूलबाट वाइन र व्रान्डी वन्दछ । उखुबाट रम वन्दछ । विदेशमा फलफूलमा आधारित वाइन अन्तःशुल्क नै लाग्दैन । अन्नबाट उत्पादन हुनेलाई धेरै अन्तःशुल्क लाग्छ । हाम्रोमा फलफूलमा आधारित वाइनलाई अन्तशुल्क लाग्ने गरेको छ ।

विदेशमा फलफूलको वाइनलाई किन अन्तःशुल्क लगाइदैन ?
फलफूल छिटो कुहिने वस्तु हो । फलफूलको व्यवस्थापनमा किसानलाई निकै चाप पर्छ । विदेशमा पनि कुनैले लगाइ रहेका पनि छन् । फलफूलमा अन्तःशुक्ल लगाउनु उपयुक्र्त होइन । नाश भएर, कुहिएर जाने फलफूललाई प्रशोधन गर्ने उद्योगहरु राज्यका सहयोगी हुन् । तिनले कुहिने चिजलाई कमोडिटीमा फेरिदिएर सुरक्षित गर्छन् । नष्ट हुने, खेर जाने चिजको उपयोग गर्नु भनेको राज्यका लागि फाइदाजनक हो, त्यसैले अन्तःशुल्क नलाग्ने बनाइएको हो ।
नेपालका वाइन उद्योगहरु के नेपाली फलफूलमै आधारित छन् त ?
राजश्व विभागले वाइन उद्योगहरुलाई जति पनि लाइसेन्स दिएको छ, ति सवैलाई स्वदेशी फलफूलमा आधारित भनिएको छ । तर जति पनि वाइन उद्योग छन् । तिनले विदेशी फलफूलको नै उपयोग गरिरहेका छन् ।
नेपालको वाइन उद्योगमा विदेशबाट सवैभन्दा बढी आउने फलफूल अंगुर नै हो । यो अंगुरको व्यवसायिक खेती नेपालमा पनि सम्भव छ । राजश्व विभागले स्वदेशी फलफूलबाटै बनाउनका लागि कडिकडाउ गरेको छ । वाइन उद्योगहरु अव विस्तारै विदेशीबाट स्वदेशी फलफूलमा जान्छन् र जानुपर्छ ।
नेपालमा वाइन उद्योगका लागि उपयुक्त फलफूलहरु कुन कुन हुन् ?
अंगुर, स्याउ, चुत्रो, भूइँस्याउ, नासपातीको प्रयोग गरेर वाइन वनाउने अभ्यास गरिएको छ । नेपालमा सवैभन्दा राम्रो अंगुरको भएको छ ।
वाइनमा अल्कोहलको मात्रा त हुन्छ नै । खासमा अल्कोहल कुन उमेर समूहका लागि उपयुक्त हुन्छ ?
वाइन उमेर पुगेको स्वस्थ मान्छेले खाँदा खासै असर गर्दैन । अल्कोहलको प्रतिशत १५ सम्म छ भने त्यो वाइन हो । ६.५ सम्मलाई वियर । भोड्का ४० देखि ४२, ह्विस्कीमा ४० देखि ४२, रममा पनि ४२ प्रतिशतसम्म अल्कोहल हुन्छ । लोकल रक्सीमा २२ देखि २८ प्रतिशतसम्म अल्कोहल हुन्छ । यसरी हेर्दा वाइनमा त्यतिधेरै अल्कोहल हुँदैन ।
नेपाली वाइन उद्योगहरु आयातमुखी कहिलेसम्म भइरहन्छन् ? निर्यातमुखी उद्योगहरु सम्भव छैन ?
नेपालमा वाइन उत्पादन निर्यातमूलक हुन सम्भव छ तर वैंकिग प्रणालीमा सुधार हुनु जरुरी छ । पूर्वाधारमा लगानी अनिवार्य छ । वाइन उद्योगमा ठूलो लगानी नगरी निर्यातमूलक बनाउन सम्भव छैन । नेपाली घरेलु बजारकेन्द्रित उद्योगबाट निर्यातमूलक उत्पादन सम्भव छैन ।
नेपाली वाइन उद्योगले सीमित बजार क्षेत्र ओगटेर, सानो पुँजीको लगानीमा आधारित छन् । विकसित प्रविधि, कच्चा पदार्थ र विशेषज्ञ जनशक्तिको परिचालन गर्न सक्ने गरी वाइन उद्योग स्थापना भएपछि मात्र विश्व बजारको मापदण्ड पूरा गर्न सकिन्छ । यसका लागि राज्य स्वयम् सचेत हुनु पर्ने हो ।
विदेशी बजारमा गुलियोको मात्रा राम्रो मानिदैन । नेपालमा गुलियो वाइन मात्र चलिरहेको देखिन्छ । अन्तर्राष्ट्रि बजारको प्रवृत्तिलाई नेपाली वाइन उद्यमीहरुले विश्लेषण गर्नु जरुरी छ । साना लगानीबाट वाइन उत्पादन गरेर विदेशी बजारमा निर्यातको कल्पना पनि गर्न सकिदैन ।

नेपाली वाइनको व्रान्डिङ किन हुन नसकेको हो ?
फ्रान्सको स्याम्पियन क्षेत्रबाट उत्पादित वाइनलाई मात्र स्याम्पियन वाइन भन्न पाइन्छ । नेपाली बजारमा चार हजारदेखि लाखौँ रुपैयासम्मको स्याम्पियनका व्रान्डहरु पाइन्छन् । यो क्षेत्रगत व्रान्डिङको अभ्यास वाइनमा भएको छ । स्कच हिवस्की स्कटल्याण्डले नै व्रान्डिङ गरेको छ । टकिलाजस्तो रक्सी मेक्सिकोले व्रान्डिङ गरिरहेको छ । हाम्रा प्रदेश सरकारले आफ्नो क्षेत्रीय र राष्ट्रिय स्तरबाटै उत्पादन र व्रान्डिङ गर्न सक्छ । यो व्यक्ति विशेषबाट सम्भव छैन । यो राज्यको दायित्व हो । हाम्रोमा कर्णालीको स्याउको वाइन व्रान्डिङ गर्ने कि मुस्ताङ मार्फा व्रान्डिङ गर्ने अथवा नेवा अएला व्रान्डिङ गर्ने त्यो राज्यको दायित्व हो ।