चन्दननाथ नगरपालिका साविकको कर्णालीको प्रशासनिक, शैक्षिक, व्यापारिक केन्द्र थियो । त्यो साख, गरिमा र महत्व जोगाउने नगरपालिकाले के गरिरहेको छ ?
चन्दननाथ जुम्लाको एक मात्र नगरपालिका हो । यो नगरपालिकाको विकास र समृद्धिका लागि मास्टर प्लान बनाएका छौँ । पुराना अलपत्र योजनाहरुलाई पूरा गर्ने र नयाँ योजनाहरु लागु गरिरहेका छौँ । हाइड्रो पावर, सडक र ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रो नगरको अहिले प्रथामिकतामा रहेका छन् । कार्तिक स्वामी, दानसाँघुदेखि बजार हुँदै जोड्ने चन्दननाथको आफ्नै रिङ रोड निर्माण हुनेछ । हरेक वस्तीमा कम्तिमा एम्वुलेन्स पुग्न सक्ने सडक हुनुपर्नेमा हाम्रो जोड छ ।
तपाईले मास्टर प्लानको कुरा गर्नुभयो । जुम्लामा लगानी सम्मेलनको कुरा पनि उठाउनु भएको थियो । त्यो के अव हुँदैन ?
जुम्लामा चन्दननाथ नगरपालिकाले तयारी गरेको लगानी सम्मेलन पोष्टपोन्ड भएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाले फेरि आवाज उठाइरहनु भएको छ । पुनः कसरी संचालन गर्ने भनी छलफल भएको छैन । यो जुम्लाको सम्पूर्ण क्षेत्रको विकासका लागि म फेरि पनि भन्छु लगानी सम्मेलन आवश्यक छ । आयोजक को हुने ? को नहुने भन्ने प्रश्न गौण हो । कसरी जुम्लाको विकास गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो ।
नगरपालिका पनि एउटा जिम्मेवार स्थानीय सरकार हो । यसले आफ्नो विकासका लागि कानुन बनाउन पाउँछ । संघीय मामिला मन्त्रालय, उद्योग मन्त्रालय समेत आयोजक हुने गरी पहिले आयोजक समिति बनेको थियो । जुम्लाका स्थानीय निकायहरु स्वतः आयोजक हुन भन्ने मेरो बुझाई थियो । चन्दननाथ नगरपालिकाले तय गरेको लगानी सम्मेलन ऐतिहासिक हुने थियो र हुनुपर्दथ्यो । तर विडम्वना त्यो पोष्टपोन्ड भयो । वुद्धिजीवी, नागरिक समाजले जिल्लाको समग्र विकास, समविकासका लागि सोच्नै पर्दछ ।
त्यो सम्मेलनको तयारीका लागि १० वटा राजदूतसँग भेटे । इन्डिया, जापान, कोरिया, चाइनालगायतका १० वटै राजदूत जुम्ला जान उत्सुक हुनुहुन्थ्यो । जुम्ला पर्यटकीय सम्भावनाले भरिएको, अर्गानिक कृषि उत्पादन भण्डार भएको क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्न सम्मेलन गर्न खोजिएको थियो । जुम्लामा देश, विदेशका प्रतिष्ठित लगानीकर्ता, राजदुतहरु, मन्त्रीहरु सहभागी भएर गरिने लगानी सम्मेलन फेरि पनि नितान्त आवश्यक छ ।
देशभरि विकासको डुल्पिकेटिङको समस्या छ भनिन्छ । रारा जान चेरे चौरतिर नै दुई सडक खनिएको देखिन्छ ? यस्तो समस्याको समाधान कसरी गर्दै हुनुहुन्छ ?
जुम्ला ऐतिहासिककालदेखि विभिन्न जिल्लासँग विभिन्न नाकाबाट जोडिएको जिल्ला हो । एउटा गाउँबाट अर्को गाउँसँग आआफ्नै प्रकृतिका वाटाहरु छन् । जुम्लामा सिंजा हुँदै रारा जाने बाटो, उर्थु हुँदै रारा जाने बाटो पनि छ । तर जुम्ला बजार आएको हरेक पर्यटकका लागि छोटो दुरीको बाटो निर्माणका लागि पहिले जिविसले खाली भदालीसम्मको आधा बाटो बनाएको थियो । त्यो पूर्ण गर्नुपर्ने थियो । त्यो अलपत्र योजनालाई हामीले अगाडि बढाएका हौँ । दोस्रो वडा कार्यालयको लक्ष्यअनुसार छोटो बाटोबाट पटमारा जानका लागि खनिएको हो । वडा कार्यालयले पटमारा जानका लागि खनेको वाटो पनि प्राकृतिक दृष्टिले निकै रमणीय ठाउँ हुँदै जान्छ । यो डुप्लिकेटिङ भएको होइन ।
जुम्ला बजारमा विजुलीको अभाव जहिल्यै भइरहेको हुन्छ ? जुम्लाको लोडसेडिङ अन्त्य गर्न के गर्दै हुनुहुन्छ ?
हाइडे पावरलाई जोड दिइरहेका छौँ । ठेकेदारले पोल विस्तारमा ढिलाई गरेको हुनाले जुम्लामा लोडसेडिङको अवस्था छ । पोल विस्तारको काम सम्पन्न हुने वित्तिकै जुगाड खोला १०० र ठिन्केको ५८ किलोवाट वत्ति हामीसँग उपलब्ध हुनेछ र यसले जुम्लाको लोडसेडिङ अन्त्य हुनेछ । दोस्रो जुम्लामा विद्युत प्राधिकरण र अन्य नयाँ वत्ति उत्पादन गर्ने आयोजनासँग समन्वय तथा कानुनी व्यवधान हटाउन बाँकी छ । विद्युत प्राधिकरणले प्राधिकार दिने वित्तिकै जुम्लाको लोडसेडिङ अन्त्य हुनेछ र उज्यालो नगर बन्नेछ ।
तपाई आफै शिक्षण पृष्ठभूमिबाट आउनुभयो ? तर तपाईले नै शिक्षकहरुको तलव रोकिदिनु भयो भन्ने छ ? यसको वास्तविकता के हो ?
म अहिले शिक्षक होइन । नागरिकहरुबाट निर्वाचित जनप्रतिनिधि हुँ । यो शिक्षकहरुको तलव रोकिएको होइन, विद्यालयको खाता रोक्का भएको हो । यो शिक्षा समिति, संघीय सरकारको कानुन अनुसार विद्यालय व्यवस्थापन समिति पर्नुगठन गर्न विद्यालयलाई पत्राचार गर्यौँ । चन्दननाथभित्रका १७ विद्यालयले व्यवस्थापन समिति गठन गरे । चन्दननाथ मावि र कर्णाली माविले गठन गरेनन् ।
यो चन्दननाथ नगरपालिकाले कानुन कार्यान्वयनमा जोड दिएको मात्र हो । संघीय कानुन, प्रादेशिक र नगरका कानुन र नगर शिक्षा समितिका निर्णयहरुको कार्यान्वयनसँग यो विषय जोडिएको छ ।
जुम्लामा ल्याण्डफिल्ड साइडको समस्या छ ? खेत नजिकै ल्याण्डफिल्ड बनाएको हुनाले नजिकको खेतमा धान नै फलेन भन्ने समाचार पनि आएको थियो । खेतमै ल्याण्डफिल्ड साइड, यो त दीर्घकालीन समाधान भएन नी ?
अस्थायी ल्याण्डफिल साइडका व्यवस्था गर्दा समय समयमा वातावरण प्रदुषित भएको गुनासो आइरहेको छ । ल्याण्डफिल्डको लागि एआई गरी डीपीआर पनि गरेका छौँ । वाह्र करोड बजेटको खाँचो पर्ने भयो । यसका लागि संघ, प्रदेश, शहरी विकास र खानेपानीमा हामी धाइरहेका छौँ । कसैले पैसा दिन सकिरहेका छैनन् । नगरको फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यो दीर्घकालीन ढंगले नै समाधान गर्ने गरी नगरपालिकाले ल्यान्डफिल्ड साइडको डीपीआर गरेको हो ।
पर्यटन वर्ष २०२० सुरु हुन केही महिना मात्र बाँकी छ । चन्दननाथ, भैरवनाथ सय गन्तव्यमै परेनन् । तपाईहरुले पर्यटन प्रवद्र्धनको लागि के तयारी गरिरहनु भएको छ ?
चन्दननाथ, भैरवनाथजस्ता ऐतिहासिक तथा प्रसिद्ध धार्मिक स्थल पनि सय गन्तव्यमा नै परेनन् । यो राज्यको एक पूर्वाग्रही व्यवहारजस्तो देखियो । पर्यटन बर्ष २०२० का संघीय सरकारले घोषणा गरेको छ । प्रदेश सरकारले पनि आफ्नै घोषणा गरेको छ । तर हामीसँग कुनै सहकार्य भएको छैन । तर पनि २०२० लाई सहयोग र स्वागत गर्न हामी एकदमै तत्पर छौँ । पर्यटकहरुका लागि सुरक्षित र सुव्यवस्थित वातावरण उपलब्ध गराउन नगर कटिवद्ध छ ।
स्थानीय तहका जनप्रतिनिधिको तलव कानुनसँग बाँझिएको भनेर सर्वोच्च अदालतले भर्खरै प्रदेश ६ को सेवा सुविधासम्बन्धी कानुन खारेज गरिदिएको छ ? यो संघीय जनप्रतिनिधिले तलव लिने र स्थानीयले लिँदा बाँझिने अवस्था देखियो । यो विषयमा तपाईको धारणा के छ ?
संविधानमा जे कुरा छ, त्यो कार्यान्वयन हुनुपर्छ । संविधानले स्थानीय सरकारलाई पनि आर्थिक नियम, कानुन बनाउने अधिकार दिएको छ । स्थानीय सरकारहरुले आफ्नो आम्दानी वृद्धि गर्ने र त्यो आम्दानीसँग जोडिएर सेवा, सुविधा लिने कुरा नै सही हो । उत्पादन भएपनि मात्र वितरण हुन्छ । दाताबाट ऋण लिने अनुदान दिने र स्थानीय सरकारको व्यवस्थापन गर्ने कुरा दीगो हुँदैन ।
समग्रमा चन्दननाथ नगरले योजनागत प्राथमिकता कता केन्द्रित गरेको छ ?
चन्दननाथले उज्यालो नगर, हरेक वस्तीमा एम्वुलेन्स पुग्ने सडक, राराको गन्तव्य सुधार, एयरपोर्टको विस्तार, फोहोर व्यवस्थापन, सुशासनमा जोड दिएको छ । चन्दननाथ नगरपालिकामा आफ्नो मास्टर प्लानअनुसार अगाडि बढ्छ ।
अन्त्यमा भन्नुपर्ने केही छ ?
कुनै पनि क्षेत्रको विकासका लागि सवैको साझा प्रतिवद्धता अनिवार्य छ । जुम्लाको विकासका लागि सवै गाउँपालिका र नगरको प्रतिवद्धता आवश्यक छ । सवै नागरिक समाज र वुद्धिजीवीहरुको भूमिकाको खाँचो छ ।