समयः साँझ ४ः२० देखि ६ः३० बजेसम्म
स्थानः झोङनानहाइको छिङचेन हल
सहभागीहरूः क्युवाली पक्षबाट–प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रिय विकास बैङ्कका प्रमुख अनेस्र्टाे चे ग्वेभारा र प्रतिनिधिमण्डलका अरु सबै सदस्यहरू
चिनियाँ पक्षबाट–चाओ एन लाई, लि सेनेन, गिएन पाओ, शेन चिआन, ली पिङ
भाषा अनुवादः काए तोङक्वा र ल्यु सिलियाङ
रेकर्डरःच्याङ चाई
अध्यक्ष माओ त्से तुङः क्युवाली प्रतिनिधिमण्डललाई स्वागत छ ।

चे ग्वेभाराः अध्यक्ष माओसँग यसरी साक्षात्कार गर्ने अवसर पाउनु हाम्रो लागि ठूलो खुशीको विषय हो । हाम्रो सङ्घर्षका क्रममा हामीले सधैं अध्यक्ष माओप्रति गहिरो श्रद्धा व्यक्त गरेका छौं । हामी क्युवाको सरकारी प्रतिनिधिमण्डल हौं तर जन्मको आधारमा हामी चारवटा फरक–फरक राष्ट्रका छौं ।
अध्यक्षः तपाई अर्जेन्टिनाको हुनुहुन्छ ।
चेः जन्म अर्जेन्टिनामा ।
अध्यक्षः प्रतिनिधिमण्डलका सदस्यहरू अरु कुन–कुन देशमा जन्मिनु भएको हो ?
चेः(रामिरो फर्नान्डो) माल्डोनोडा (इक्वेडरको क्रान्तिकारी समाजवादी पार्टीका महासचिव) इक्वेडरियाली हुनुहुन्छ । (अर्थशास्त्री अल्बान) लातास्ते चिलीका हुनुहुन्छ । म अर्जेन्टिनाको हुँ । बाँकी अरु सबै क्युवाका हुनुहुन्छ । हामीमध्ये केही क्युवामा नजन्मेको भए तापनि हामी क्युवामा जन्मेको होइन भनेर क्युवाली जनताले हाम्रो चित्त दुखाउनु भएको छैन । वास्तवमा हामी क्युवाली क्रान्तिको रक्षा गर्छौं । फिडेल (क्यास्ट्रो) ले सबै ल्याटिन अमेरिकीहरूको प्रतिनिधित्व गर्नुहुन्छ ।
अध्यक्षः तपाईहरू अन्तर्राष्ट्रिवादी हुनुहुन्छ ।
चेः ल्याटिन अमेरिकाका अन्तर्राष्ट्रिवादीहरू ।
अध्यक्षः एसियाली जनता, अफ्रिकी जनता र सम्पूर्ण समाजवादी मोर्चा तपाईहरूको समर्थनमा छन् । गएको वर्ष तपाईले केही एसियाली देशहरूको भ्रमण गर्नुभयो नि, (होइन र) ?
चेः केही देशहरू जस्तै भारत,सियाम(थाइल्याण्ड), इन्डोनेसिया, बर्मा, जापान र पाकिस्तान ।
अध्यक्षः चीनबाहेक एसियाका सबै प्रमुख देशहरूमा पुगिसक्नुभएको रहेछ तपाई ।
चेः त्यही भएर अहिले म यहाँ चीनमा छु ।
अध्यक्षः तपाईलाई स्वागत छ ।
चेः गएको साल म क्युवाबाट बाहिर निस्कँदा हाम्रो आन्तरिक परिस्थिति अझै स्थीर भइसकेको थिएन । त्यसकारण हामीले बाहिरी विश्वसँग व्यवहार गर्दा सजग हुनुपर्ने अवस्था थियो । तर आज परिस्थिति बद्लिएको छ । आज क्युवाको घरेलु अवस्थामा सुधार भएको छ र हामी दरिलो भएर उभिने भएका छौं ।
अध्यक्षः आजको अन्तर्राष्ट्रिय परिस्थिति अघिल्लो वर्षको तुलनामा सुध्रिएको छ ।
चेः सिङ्गो देश संगठित भएका छौं तर साम्राज्यवादीहरू हरेक दिन हाम्रो बीच विभाजनको कामना गरिरहेका छन् ।
अध्यक्षः किसान र मजदुर बाहेक तपाईहरू को सँग मिल्नुभएको छ ?
चेः हाम्रो सरकारले मजदुर–किसानहरूको प्रतिनिधित्व गर्छ । हाम्रो देशमा अझै पनि मध्य पूँजीपति वर्ग छ । उनीहरू हामीसँग राम्रो सम्बन्ध राख्छन् र सहकार्य गर्छन् ।
अध्यक्षःके त्यहाँ राष्ट्रिय पूँजीपति वर्ग छैन ?
चेःराष्ट्रिय पूँजीपतिहरू मुख्यतः आयातकर्ताहरू हुन् । उनीहरूका स्वार्थ साम्राज्यवादीहरूसँग गाँसिएको छ । त्यसकारण उनीहरू हाम्रो विरोधमा छन् । (त्यही भएर) उनीहरूलाई हामीले आर्थिक र राजनीतिक दुवै हिसाबमा सिध्याउने काम गर्यौं ।
अध्यक्षः उनीहरू त दलाल पूँजीपति वर्ग भए । (उनीहरूलाई) राष्ट्रिय पूँजीपति वर्ग मान्नुभएन ।
चेःकेही मानिसहरू पूर्ण रुपमा साम्राज्यवादमा निर्भर रहने गर्दछन् । साम्राज्यवादले उनीहरूलाई पूँजी, प्रविधि, प्याटेन्ट र बजार दिएको छ । उनीहरू बस्न त आफ्नै देशमा बस्छन् तर उनीहरूको स्वार्थ साम्राज्यवादसँग जोडिएको हुन्छ । उदाहरणको लागि चिनी व्यापारीहरू ।
अध्यक्षः चिनी व्यापारीहरू ।
चेः उनीहरू थिए । तर अहिले त सबै चिनीको व्यापारी राष्ट्रकरण भइसकेको छ ।
अध्यक्षः तपाईहरूले मुलतः सबै संरा अमेरिकी पूँजीलाई अधिग्रहण गर्नुभयो ।
चेः मुलतः होइन, सबै नै । पक्कै पनि केही पूँजी अधिग्रहणबाट उम्के । तर त्यसको अर्थ हामीले त्यो पूँजी पनि अधिग्रहण गर्न नचाहेको भने होइन ।
अध्यक्षः तपाईहरूले अधिग्रहणको क्षतिपूर्ति पनि दिनुभयो कि?
चेः यदि कुनै चिनी कारखानाले अधिग्रहणअघि हामीसँगबाट ३० लाखभन्दा बढी टन चिनी किनेको खण्डमा हामीले किनेको चिनीको मूल्यको ५ देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति दिएका छौं । क्युवाको अवस्था थाहा नभएको मानिसहरूलाई यो नीतिभित्र निहीत विरोधाभास बुझ्न गाह«ो महसुस गर्नेछन् ।
अध्यक्षः तपाईहरूले प्रतिवर्ष ४७ काबालैरिया (क्युवाको हकमा ३३ एकड भूमि) दरले एक प्रतिशत व्याजदरमा पूँजी र नाफा फिर्ता गर्नुभएको भनी पत्रिकामा लेखेको थियो नि ।
चेः हामीसँग ३० लाखभन्दा बढी टन चिनी किन्ने कम्पनीले मात्र क्षतिपूर्ति पाउँछन् । अरु कुनै सुविधा वा क्षतिपूर्ति छैन । तुलनात्मक रुपमा अलि ठूला दुई वटा बैङ्कहरू छन् । हामीले तिनलाई राष्ट्रकरण गरेनौं किनभने उनीहरूले हाम्रा घरेलु र वैदेशिक नीतिहरू मान्न तयार भए ।
अध्यक्षः केही समयको लागि कार्यनीतिक रुपमा केही साम्राज्यवादी कम्पनीहरूको उपस्थितिलाई सहन गर्न सकिन्छ । हामी कहाँ पनि केही साम्राज्यवादी कम्पनीहरू छन् यहाँ ।
प्रधानमन्त्री चाओ एन लाईःजस्तै एचएसबीसी(हङकङ एण्ड साङ्घाई बैङ्किङ कर्पोरेशन) । त्यसको उपस्थिति प्रतीकात्मक मात्र थियो ।
चेः क्युवामा क्यानाडेली बैङ्कहरू यहाँको एचएसबीसी जस्तै हुन् ।
अध्यक्षः तपाईहरूले बहुमत मजदुर किसानहरूलाई संगठित गर्नुपर्दछ ।
चेः पूँजीपतिहरूमध्येबाट केही मानिसहरू हाम्रो विरुद्ध गए र शत्रुको मोर्चामा सामेल भए ।
अध्यक्षः तपाईहरूको विरोधमा जानेहरू तपाईका शत्रु हुन् । प्रतिक्रान्तिकारीहरूलाई दबाएर तपाईहरूले महान काम गर्नुभएको छ ।
चेः प्रतिक्रान्तिकारीहरू आक्रामक गतिविधि गर्ने गरेका छन् । (उदाहरणको लागि)कहिले काहींहरू उनीहरूले केही टापुहरूमाथि कब्जा जमाउने गर्दछन् । तर चाँडै उनीहरूलाई त्यहाँबाट धपाइनेछ । चिन्ता मान्नु पर्ने कुरा केही छैन । हामीले तिनीहरूका नेताहरूलाई पक्राउ गरेलगत्तै गोली हानेर सिध्याउने गरेका छौं । उनीहरूलाई पारास्युटबाट हातहतियार उपलब्ध गराइने गरेको छ । सबै संरा अमेरिकाबाट ।
अध्यक्ष ः तपाईहरूले केही अमेरिकीहरूलाई पनि पक्राउ गर्नुभयो नि होइन ?
चेः उनीहरू चाँडै थाके र उनीहरूलाई गोली हानी हत्या गरियो ।
चाओ एन लाई ः अमेरिकी सरकारले त्यसको विरोध ग¥यो र तपाईहरूले त्यसको प्रतिकार गर्नुभयो ।
अध्यक्षः तपाईहरू दृढनिश्चयी हुनुहुन्छ । अन्तिम समयसम्म दृढ रहनुहोला । यो क्रान्तिप्रतिको आशा हो र साम्राज्यवादीहरू आफै ठूलो सङ्कटमा फस्नेछन् । तर आफ्नो अडानमा टिक्न नसके र सम्झौता गरे साम्राज्यवादीहरूले तपाईसँग व्यवहार गर्न सजिलो मान्नेछन् ।
चेः हाम्रो क्रान्तिको पहिलो चरणमा फिडेलले सार्वजनिक आवासका समस्याहरू समाधान गर्ने तरिका प्रस्ताव गर्नुभयो । सरकारले सबै जनताको लागि घर बनाइदिने जिम्मा लियो । हामीले ठूला घरका मालिकहरूका सम्पत्ति कब्जामा लियौं र जनतालाई बाँडिदियौं । साना घरका मालिकहरूले आफ्नो सम्पत्ति आफैसँग राखे ।
अध्यक्ष ः अनि ?
चेः अहिले हामी क्रान्तिको दोस्रो चरणमा पुगेका छौं । अर्थात् हामी मानिसले मानिसमाथि गर्ने शोषण अन्त्य गर्ने चरणमा पुगेका छौं । घरेलु र अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षमा हामी हाम्रो शासन बलियो बनाउनेतिर लागेका छौं । आज निकै जर्जर अवस्थामा रहेको अशिक्षा र बेरोजगारीलाई निर्मुलन गर्ने, औद्योगिक क्षेत्रको विकास र भूमिसुधारका थप कार्यक्रम लागु गर्नेतिर हामी अघि बढेका छौं ।
अध्यक्षः निकै राम्रो । तपाईहरूले ल्याटिन अमेरिकामा प्रभाव पार्नुभएको छ र त्यसको प्रताप एसिया र अफ्रिकासम्म फैलिएको छ । तपाईहरूले राम्रो काम गरेसम्म उनीहरू तपाईहरूबाट प्रभावित रहनेछन् ।
चेः विशेषतः ल्याटिन अमेरिका ।
अध्यक्षः ल्याटिन अमेरिकाका मध्यम पूँजीपति र राष्ट्रिय पूँजीपतिहरू समाजवाददेखि डराएका छन् । निश्चित समयावधिसम्म हामी सामाजिक सुधारमा दौडिहाल्नु हुन्न । यसो गर्दा ल्याटिन अमेरिकाका साना पूँजीपति र राष्ट्रिय पूँजीपति वर्गको मन जित्नको लागि राम्रो हुनेछ । चीनमा विजयपश्चात च्याङ काई सेकका व्यापार र पहिले जर्मनी, इटाली र जापानको स्वामित्वमा रहेका, पछि च्याङको स्वामित्वमा ल्याइएका सम्पत्ति राष्ट्रकरण गरियो । जसले कुल औद्योगिक पूँजीमध्ये राज्यको पूँजी ८० प्रतिशतसम्म पुर्याउन सफल भयो । राष्ट्रिय पूँजीपति वर्गको हातमा कुल औद्योगिक पूँजीको २० प्रतिशत मात्र भए पनि उनीहरूले १० लाखभन्दा बढी मजदुरहरूलाई रोजगार दिए र समग्र व्यापारिक सञ्जाल उनीहरूको नियन्त्रणमा थियो । यो समस्या समाधान गर्न हामीलाई सात वर्ष लाग्यो । हामीले यो समस्या समाधान हुने आशामा उनीहरूलाई रोजगार, मताधिकार, निजी–सार्वजनिक व्यवस्थापन र शेयर बिक्री बन्दोबस्त गर्यौं । यो एकाकार गरिएको समाधानले उनीहरूलाई सन्तुष्ट बनायो र विदेशमा तुलनात्मक रुपमा राम्रो प्रभाव पार्यो । यो समाधानबाट एसियाली पूँजीपतिहरू पूर्णतः खुशी त भएनन् तर उनीहरूलाई एकताबद्ध बनाउन यो स्वीकार्य उपाय भएको र शेयर बिक्रीको नीतिको प्रयोग सकारात्मक रुपमा लिए । शहरी घरेलु क्षेत्र र मध्यम पूँजीपतिहरूको समस्या सामना गरियो । यसको निम्ति सहकारीको माध्यमलाई पनि प्रयोग गरियो ।
चेः हामीले चीनलगायत अरु समाजवादी देशहरूका अनुभवबाट सिक्न जरुरी छ । पूँजीपति वर्ग विदेशमा नजाउन् भनी हामीले उनीहरूलाई सम्मान, रोजगार र पैसा दियौं । हामीले प्राविधिकहरूलाई ज्याला दियौं । ऐतिहासिक रुपमा हामी कहाँ घरेलु उद्योग थिएन । त्यसकारण हामीले त्यो समस्या समाधान गर्नुपरेन । हामीले काम नपाएका सहकारीहरूलाई संगठित बनायौं र त्यसवापत हामीले उनीहरूलाई काम दियौं ।
अध्यक्ष ः संरा अमेरिका क्युवामा राष्ट्रिय पूँजीपति विकास भएको चाहँदैन । जापान, कोरिया र चीनकै उत्तरपूर्व(मञ्चुरिया), फ्रान्स र भियतनामको सन्दर्भमा पनि त्यही हो । उनीहरूले स्थानीय मानिसहरूलाई ठूला उद्योगहरू चलाउन नै दिंदैनन् ।
चेः यो प्रक्रियाले ल्याटिन अमेरिकामा भएको घटनाको झझल्को दिएको छ । सामन्तवादी शक्तिलाई ध्वस्त बनाउन साम्राज्यवादले राष्ट्रिय पूँजीपति वर्गलाई विकास हुन दिने गर्दछ । राष्ट्रिय पूँजीपति वर्गले निकै धेरै आयात करको माग पनि गर्न सक्छन् । तर उनीहरू राष्ट्रिय हितको पक्षमा उभिने गर्दैनन् । वास्तवमा उनीहरूको स्वार्थ साम्राज्यवादसँग मिलेको हुन्छ ।
अध्यक्ष माओः मेरो एउटा प्रश्न छ । पूँजीगत हिसाबबाट के ब्राजिलको स्पात कारखाना संरा अमेरिकासँग जोडिएको छ ?
चेः ब्राजिलका प्रमुख धातु कारखानाहरू अमेरिकी पूँजीले स्थापना गरेका हुन् ।

चाओ एन लाइः अमेरिकी पूँजी कति प्रतिशत छ ? ब्राजिलले वार्षिक रुपमा १६ लाख स्पात उत्पादन गर्ने गरेको छ ।

चेः ब्राजिलका कारखानाहरूमा समग्रमा अमेरिकी पूँजी कति छ, त्यो त त्यत्ति स्पष्ट छैन । तर प्राविधिक रुपमा त्यो पूर्णरुपमा अमेरिकामा निर्भर छ । ब्राजिल धेरै ठूलो देश हो तर ल्याटिन अमेरिकाका अरु देशहरू र ब्राजिलबीच तात्वि रुपमा कुनै अन्तर छैन ।
अध्यक्षः मेरो अर्को पनि प्रश्न छ । शुरुमा क्युवाली भूमिा टेकेदेखि विजय हासिल गर्दासम्म तपाईंहरूलाई दुई वर्षको समयावधि लाग्यो । तपाईहरूले किसानहरूलाई संगठित गर्नुभयो र विजय हासिल गर्नुभयो । के ल्याटिन अमेरिकाका अरु देशहरूमा त्यही तरिकाबाट काम गर्न सम्भव छ ?
चेः यो प्रश्नको जवाफ एकै किसिमबाट दिन सकिंदैन । वास्तवमा तपाईसँग हाम्रो तुलनामा धेरै अनुभव र गहिरो विवेक छ । अरु ल्याटिन अमेरिकी देशहरूको तुलनामा क्युवामा क्रान्ति गर्न निकै कठिनाई सामना गर्नुपर्यो । तर त्यहाँ एउटा अनुकूलको वातावरण भने थियो । साम्राज्यवादीहरूको उपेक्षाको फाइदा उठाएर हामीले विजय हासिल गरेका थियौं । साम्राज्यवादीहरूले हामीमाथि दमन गर्न कुनै शक्ति केन्द्रित गरेको थिएन । उनीहरू विजय हासिल गरेपश्चात फिडेलले आखिरमा उनीहरूसँगै ऋण लिन हात फैलाउने सोचेका थिए । आफूसँग सहकार्य गर्ने उनीहरूको अपेक्षा थियो । तर अरु ल्याटिन अमेरिकी देशहरूमा क्रान्तिको शुरुवात गर्दा त्यस्ता खतराको सामनता गर्नुपर्ने हुन्थ्यो । जस्तै उदाहरणको लागि ग्वाटेमाला । आफ्ना जलसेना प्रयोग गरेर संरा अमेरिकाले त्यहाँ हस्तक्षेप गर्यो ।
अध्यक्षः ती ल्याटिन अमेरिकी देशहरूका आन्तरिक परिस्थितिको सन्दर्भमा कुनै भिन्नता छन् त ?
चेः राजनीति भिन्नताहरू छन् । तर सामाजिक रुपमा भन्नुपर्दा यी सबै देशहरूलाई मात्र दुई वा तीन ठूला प्रकारमा विभाजन गर्न सकिन्छ । तीन वटा देशहरूमा सैनिक सङ्घर्ष चालू छ–पाराग्वे, निकारागुआ र ग्वाटेमाला ।
अध्यक्षः संरा अमेरिकाले अब आफ्नो संगीनको तीर ग्वाटेमाला र निकारागुआतिर सोझ्याएको छ ।
चेः कोलोम्बिया र पेरुमा जनताको महान् क्रान्तिको उदय हुने सम्भावना छ ।
अध्यक्षः मैले भनेजस्तै पेरुमा बहुमत मानिसलाई जमिनको आवश्यकता छ । कोलोम्बियामा पनि त्यही हो ।
चेः पेरुको सन्दर्भ रोचक छ । त्यहाँ जहिल्यै पनि आदिम साम्यवादको परम्परा छ । स्पेनियालीहरूले आफ्नो शासनको क्रममा सामन्तवाद र दास व्यवस्था ल्याएका हुन् । तर त्यहाँ त्यसबीच पनि आदिम साम्यवादको अवसान भएन । बरु त्यो व्यवस्था अझै पनि कायम छ । कुज्कोमा कम्युनिष्ट पार्टीले चुनाव जित्यो । चुनावमा कम्युनिष्ट विजयको लागि यो सङ्घर्ष जातीय सङ्घर्षसँग जोडिएको छ । पेरुमा धेरै आदिवासी जनता बस्छन् तर गोरा, मेत्सिजोस आदिवासीहरूले मात्र जमिनमाथि हक पाएका छन् र जमिन्दार बनेका छन् ।
अध्यक्षः स्थानीय जनताको जनसङ्ख्या ९० लाखदेखि एक करोड छ । जबकि स्पेनियालीहरूको जनसङ्ख्या दश हजारमात्र छ ।
चेः यो तथ्याङ्क अतिरञ्जनापूर्ण हुन सक्छ । पेरुमा १ करोड २० लाख जनसङ्ख्या छ । तीमध्ये १ करोड आदिवासीहरू छन् भने २० लाख जनता गोरा छन् ।
अध्यक्षः पेरुको अवस्था र दक्षिण अफ्रिकाको अवस्था उस्तै रहेछ । दक्षिण अफ्रिकामा ३० लाखमात्र बेलायतीहरू रहेछन् ।
चाओ एन लाईः ३० लाख बेलायती, १० लाख डच, १० लाख मिसिएका, ८० लाख काला र ५ लाख आदिबासीहरू छन् । काला र आदिबासीहरूको अवस्था सबभन्दा गएगुज्रेको अवस्था छ । गोराहरूलाई मात्र मताधिकारको बन्दोबस्त छ ।
चेः पेरुमा अझै पनि दास प्रथा छ । सामान्यरुपमै भूमिवापत मानिसको किनबेच हुने गरेको छ ।
चाओ एन लाईः विगतमा तिब्बतमा जस्तै ।
चेः ती पिछडिएका ठाउँहरूमा रैथानेहरूसँग पैसा छैन । जब केही कुरा बेच्नु पर्दा बिक्रेताले तराजुको एउटा पलामा बेच्न राखेको सामान र अर्को पलामा तामाका सिक्का राखेर तौलिने गर्दछन् । कागजको मुद्रा प्रयोग गर्दैनन् उनीहरू ।
अध्यक्षः कोलोम्बियाको अवस्था केही फरक छ नि होइन र ?
चे ः कोलोम्बियामा सामन्तवाद कमजोर छ । तर त्यहाँ क्याथलिकहरूको बलियो उपस्थिति छ । त्यहाँका सामन्त र क्याथलिक चर्चहरू संरा अमेरिकासँग मिलेका छन् । त्यहाँका आदिवासीहरू गरीब छन् तर उनीहरू दास भने होइनन् । कोलोम्बियामा गुरिल्ला शक्तिहरू थिए तर आजभोलि उनीहरू लड्न छोडिसके ।
अध्यक्षः के क्युवाको अरु ल्याटिन अमेरिकी देशहरूसँग कुटनीतिक सम्बन्ध छ ?
चेः धेरै देशहरू एक अर्कासँग जुधेका छन् र क्युवासँग सम्बन्ध तोडेका छन् । हाइटी, दोमिनिकन गणराज्य र ग्वाटेमाला यस्ता देशका उदाहरण हुन् । कोलोम्बिया, एल साल्भाडोर र होन्डुरसले क्युवाली राजदुतलाई अयोग्य घोषणा गरे । ब्राजिलले पनि बिना कारण क्युवाली राजदुतलाई निकाला ग¥यो ।
चाओ एन लाईः जम्माजम्मी सात वटा देशहरू भए ।
अध्यक्षः त्यसो भए क्युवाको ल्याटिन अमेरिकाका अधिकांश देशहरूसँग कुटनीतिक सम्बन्ध छ । ल्याटिन अमेरिकाका १९ वटा देशहरूमध्ये ७ वटाले रहेनन् । बाँकी रहे १२ वटा ।
चेः शुरुका तीन वटा–हाइटी, दोमिनिकन गणराज्य र ग्वाटेमालाको क्युवासँग सम्बन्ध थिएन । कोलोम्बिया, एल साल्भाडोर, होन्डुरस र ब्राजिलमा क्युवाका कुटनीतिक प्रतिनिधि छन् । तर क्युवाली राजदुत नै छैन । क्युवालीहरू ब्राजिलमा जानु भनेको तथाकथित फलामे पर्दाको अर्को तिर जानु जस्तै हो ।

अध्यक्षः ग्वाटेमाला र निकारागुआका युद्धको प्रकृति कस्तो हो ? के तिनीहरू जनताका युद्धहरू हुन् ?

चेः यसको म यही हो भन्ने जवाफ दिन सक्तिन । मलाई पारेको प्रभावका आधारमा ग्वाटेमालाको लडाई जनताको युद्ध हो भने निकारागुआको लडाई सामान्य प्रकारको हो । ती देशहरू क्युवाबाट टाढा छन् । त्यसकारण त्यहाँका लडाईहरूको प्रकारबारे कुनै धारणा छैन । मैले भर्खर भनेको जवाफ मात्र आत्मगत जवाफ हो ।
अध्यक्षः ग्वाटेमालामा जे भइरहेको छ, के त्यो ज्याकोभ अर्वेन्ज गुज्मानसँग जोडिएको छ ?
चेः म चीनको लागि निस्कने बखतमा मैले यो सन्दर्भमा अर्वेन्जको घोषणा हेर्ने मौका पाएँ । त्यहाँका क्रान्ति लोकप्रिय प्रकारको हुनसक्छ ।
अध्यक्षः अहिले अर्वेन्ज क्युवामा छन् ?
चेः हो, उनी क्युवामा छन् ।
अध्यक्षः उनी चीन र सोभियत सङ्घ पनि आएका छन् । राम्रो मान्छे हुन् उनी ।
चेः म उनलाई विश्वास गर्छु । विगतमा उनले गल्तीहरू गरे । तर उनी अडिग, अघि बढ्ने खालका र विश्वासयोग्य छन् ।
(अध्यक्ष माओले प्रतिनिधिमण्डलका सबै सदस्यहरूलाई रात्रीभोजमा आमन्त्रण गरे । त्यहाँ पनि कुराकानी भने चालु रह्यो ।)
चेः चीन र क्युवाबीच दुई वटा कुराहरू झण्डै झण्डै उस्तै छन् । यो कुराले मलाई निकै प्रभावित बनाएको छ । तपार्इंहरू जब क्रान्ति गर्दै हुनुहुन्थ्यो, च्याङ काई सेकले तपाईंहरूमाथि गरेको हमलालाई ‘घेरामा पार र दबाऊ’ भनेर व्याख्या गर्नुभएको छ । यी दुवै शब्दहरू प्रतिक्रियावादीहरूले हाम्रोतिर पनि प्रयोग गरे । उनीहरूले प्रयोग गरेको रणनीति उही रहेछ ।
अध्यक्ष माओः हाम्रो शरीरमा जब कुनै बहिरिया तत्व प्रवेश गर्छ, सेतो रक्तकोषले त्यसलाई घेर्ने गर्छ र दबाउने गर्दछ । च्याङ काई शेकले हामीलाई व्याक्टेरियालाई जस्तै व्यवहार गर्यो र खत्तम गर्न खोज्यो । हामीले २२ वर्षसम्म उनीविरुद्ध विभिन्न किसिमबाट लड्यौं । दुई पटक हाम्रो सहकार्य भयो र दुई पटक हाम्रो विग्रह भयो । स्वभाविक रुपमा त्यसले धेरै लामो समय लियो । पहिलो पटकको सहकार्यमा दक्षिणपन्थी अवसरवादीहरूका पछि लागेर गल्ती गर्यौं । पार्टीभित्र दक्षिणपन्थी समूहको उदय भयो । परिणामतः च्याङ काई शेकले पार्टीभित्र खेल्ने मौका पायो, साम्यवादको विरोध भयो र युद्धमार्फत दबाउने काम भयो । उत्तरी अभियानको क्रममा त्यसो भएको थियो । सन् १९२४ देखि १९२७ सम्मको दोस्रो चरणमा युद्धसिवाय केही भएन । हामीलाई जान कुनै पनि बाटो राखिएन । तपाईहरूलाई जसरी बाटिस्टाले कुनै पनि ठाउँ छोडेका थिएनन्, बरु जनता मार्ने काममात्र गरिरह्यो । बन्दुक बोकेर लड्नुबाहेक अरु कुनै विकल्प छैन भन्ने कुरा च्याङ काई शेकले हामीलाई सिकाए । जसरी क्युवाली जनतालाई बाटिस्टालाई त्यो कुरा सिकाएका थिए, चिनियाँ जनतालाई पनि च्याङ काई शेकले सिकाए । हामीलाई कसरी लड्ने भन्ने कुरा थाहा थिएन न त हामी लड्ने तयारीमै थियौं । प्रधानमन्त्री र म त बुद्धिजीवी थियौं । उहाँ (अध्यक्ष माओ उपप्रधानमन्त्री ली सेनेनलाई सङ्केत गर्दै हुनुहुन्थ्यो) त मजदुर हुनुहुन्थ्यो । तर हामीसँग बाँकी अर्को विकल्प नै के थियो र ? च्याङ काई शेक हामीलाई मार्न चाहन्थे ।
(अध्यक्ष माओले क्युवाली जनताको क्रान्तिको सफलताको लागि र प्रतिनिधिमण्डलका सबै सदस्यहरूको सुस्वास्थ्यको कामना गर्दै गिलास उठाएर टोस्ट प्रस्ताव गर्नुहुन्छ ।)
अध्यक्ष माओः एकचोटी युद्धको सुरुवात भएपश्चात् त्यो कम्तीमा दश वर्ष चल्ने गर्दछ । हामीले आधार क्षेत्र त बनायौं तर हामीबाट दक्षिणपन्थी अवसरवादी गल्तीहरू भए । जब हामी अतिवामपन्थी नीतिमा झुकाव राख्न थाल्यौं, परिणामतः हामीले आधार क्षेत्रहरू गुमाउँदै गयौं । अनि हामी अन्यत्र जान बाध्य भयौं । लामो अभियान त्यसैको परिणाम थियो । ती गल्तीहरूले हामीलाई सिकायो । मूलतः हामीले दुई वटा गल्ती गर्यौं–एउटा वामपन्थी र अर्को दक्षिपन्थी गल्ती । तिनै गल्तीबाट हामीले पाठ सिक्यौं । जब जापानले चीनविरुद्ध हमला सुरु गर्यौँ, हामीले च्याङ काई शेकसँग मोर्चा गर्यौं । त्यस्तो कालखण्ड तपाईहरू इतिहाससँग मिल्दैन ।
चेः धन्य हाम्रो इतिहासमा त्यो घटना छैन ।
अध्यक्ष माओः बाटिस्टासँग मोर्चाबन्दी गर्ने तपाईहरूको सन्दर्भमा सम्भावना नै थिएन नि ।
चेः बाटिस्टाको अमेरिकीहरूसँग कुनै द्वन्द्व थिएन ।
अध्यक्ष माओः च्याङ काइ शेक बेलायत र संरा अमेरिकाको कुकुर नै थिए । जापानले जब चीनमाथि कब्जा जमायो, च्याङ काई शेकलाई मान्य भएन । आठ वर्ष लामो तेस्रो चरण (१९३७–४५)मा हामीले जापानविरुद्ध लड्न च्याङ काई शेकसँग सहकार्य गर्यौँ । त्यो सहकार्य राम्रो खालको थिएन किनभने च्याङ काई शेकले दलाल पूँजीपति वर्गको प्रतिनिधित्व गरेका थिए । उनी बेलायत र संरा अमेरिकाको दलाल बनेका थिए ।
चौथो चरणमा जापान भागिसकेपश्चात च्याङ काई शेकले हामीमाथि हमला गर्यो । एक वर्ष त हामीले उसको प्रतिरोधमा बिताउनुपर्यो । त्यसपछि हामी आक्रामक बन्यौं र साढे तीन वर्षसम्म उसलाई पराजीत गर्न लाग्यो । सन् १९४९ मा हामीले समग्र विजय हासिल गर्यौं । च्याङ काई शेक ताइवान भाग्यो । हाम्रो हातबाट ताइवान टापु रहेन ।
प्रधानमन्त्री चाओ एनलाईः तपार्इंहरूको पनि व्युनो टापु (द आइल्स अफ पाइन) छ नि । बाटिस्टा यो टापु छोडेर पनि नभाग्दा सम्म त उनीहरूले त्यसमाथि कब्जा जमाएका थिए ।
अध्यक्ष माओः त्यसमाथि कब्जा जमाउनु निकै राम्रो हो ।
चेः तर फेरि पनि अमेरिकाले हमला गर्ने खतरा भने रहिरहेको छ ।
प्रधानमन्त्री चाओ एन लाईः अमेरिकीहरूले द आइल्स अफ पाइन्समा हमला गर्ने प्रयास गरेका थिए ।
अध्यक्ष माओः त्यसको अर्थ अमेरिकी साम्राज्यवाद हाम्रो साझा दुश्मन हो । साथै संसारका जनताको साझा दुश्मन भए । तपाईं त निकै युवा देखिनुहुन्छ ।
चेः तपाईले क्रान्ति सुरु गर्दा मेजर सुनोलबाहेक हामी अरु त कोही पनि जन्मेका पनि थिएनौं । मेजर सुनोल अहिले ३५ वर्षको हुनुहुन्छ । उहाँ हामीमध्ये सबभन्दा पाको हुनुहुन्छ ।
अध्यक्ष माओः विगतमा हामीले युद्धको मैदानमा सङ्घर्ष ग¥यौं । आजभोलि हामी निर्माणमा सङ्घर्ष गरिरहेका छौं ।
कमाण्डर इड्डी सुनोलः क्रान्तिको रक्षा गरिरहनुभएको छ ।
चेः क्युवा र चीनबीच अर्को एउटा कुरा पनि मिलेको छ । सन् १९४५ मा भएको क्युवाली कम्युनिष्ट पार्टीको महाधिवेशनमा प्रस्तुत समसामयिक प्रतिवेदनमा भनिएको छः केही शहरिया मानिसहरू गाउँ भनेपछि नाक खुम्च्याउँछन् । हाम्रो सङ्घर्ष दुई भागमा विभाजित छ । पहिलो पहाडी क्षेत्रमा छापामार युद्ध चलाउनुपर्दछ र अर्कोतिर शहरमा हड्तालहरू गर्नुपर्दछ । शहरमा हड्तालहरू गरिरहेका शक्तिहरूले पहाडी क्षेत्रमा छापामार युद्ध गरिरहेकाहरूलाई उपेक्षा गर्ने काम भइरह्यो । तर अन्तमा शहरी विद्रोहका पक्षधरहरू असफल भए ।
प्रधानमन्त्री चाओ एन लाईः धेरै मिल्दोजुल्दो ।

अध्यक्ष माओः बेकामका शक्तिहरूबाट फाइदा लिन खोज्नु दुस्साहसवाद हो । जब उनीहरूले गाउँहरूमा ध्यान दिन असफल हुन्छन्, शहरका जनतालाई किसानहरूसँग एकताबद्ध हुन त्यत्ति सजिलो हुने गर्दैन ।
प्रधानमन्त्री चाओ एन लाईः अक्टोबर ५ को तपाईंको लेख पढिसकेपश्चात मात्र मेरो दिमागमा यो कुरा खुल्यो । (अक्टोबर ५ को लेख चे ग्वेभाराले क्युवाली विचारधाराको अध्ययन गरी लेख्नुभएको लेख हो र भेर्दा ओलिभियो नामको पत्रिकामा यो लेख प्रकाशित भएको थियो ।) मैले त्यो लेखका उद्धरणहरू पढेको छु र त्यसमा उठाइएका विषयहरू अध्ययन गरेको छु । तपाईंलाई त बुद्धिजीवी मान्नुपर्दछ ।
चेः म बुद्धिजीवी भन्न सकिने तहमा पुगिसकेको छैन ।
अध्यक्ष माओः तपार्इं त लेखक हुनुहुन्छ । मैले पनि त्यो लेखका अंशहरू पढेको छु र म तपाईंका विचारहरूसँग धेरै धेरै सहमत छु । त्यो लेखले समग्र ल्याटिन अमेरिकालाई प्रभावित बनाउन सक्दछ ।
प्रधानमन्त्री चाओ एन लाईः तपाईंले त्यो लेखको पूरा प्रति ल्याउनुभएको छ ?
चेः म तपाईलाई त्यसको प्रति उपलब्ध गराउने प्रयास गर्नेछु ।
अध्यक्ष माओः त्यो लेखमा तपाईंले मूलतः तीनवटा सिद्धान्त अघि सार्नुभएको छ । जनताले प्रतिक्रियावादीहरूलाई पराजीत गर्न सक्छन् । त्यसको लागि क्रान्तिको सबै परिस्थिति परिपक्व बनाउन जनताले उपयुक्त समय कुर्न जरुरी छैन । तेस्रो सिद्धान्त के हो रे ?
चेः तेस्रो सिद्धान्त ल्याटिन अमेरिकाको सन्दर्भमा प्रमुख कार्यभार ग्रामीण भेगमा आधारित रहनेछ ।
प्रधानमन्त्री चाओ एन लाईः क्रान्तिलाई ग्रामीण भूभागसँग जोड्न निकै महत्वपूर्ण छ ।
चेः हामी पनि यो बुँदामा निकै अडिग रह्यौं ।
प्रधानमन्त्री चाओ एन लाईः केही ल्याटिन अमेरिकी साथीहरू किसानहरूको भूमिका त्यत्ति महत्वपूर्ण मान्दैनन् । तपाईंहरूले यो बुँदामा तपाईंहरू स्पष्ट हुनुभयो र सफल हुनुभयो । चिनियाँ क्रान्तिको सन्दर्भमा पनि त्यस्तै भयो । धेरै मानिसहरूले किसानहरूको योगदानको उपेक्षा गरे तर अध्यक्ष माओले त्यही बुँदामा जोड दिनुभयो ।
अध्यक्ष माओः हामीलाई शहरमा पस्न नदिएर शत्रुले नै हामीलाई यो रणनीति सिकाएका हुन् । च्याङ काई शेक जनता मार्न चाहन्थ्यो । त्यसअवस्थामा तपाईले के नै पो गर्न सक्नुहुन्थ्यो र ?
चेः माओका रचनाहरूमा लेखिएका विचार फिडेल क्यास्ट्रोले निकै महत्वपूर्ण भएको पाउनुभयो । सुरुमा बरु मैले त्यो महत्वलाई पहिल्याउन सकेको थिइनँ । युद्धबन्दीहरूलाई आत्मिक व्यवहार गर्ने, उनीहरूका घाउ, चोटपटक उपचार गर्ने र फिर्ता पठाउने विचार । हामीले यो विचार हाम्रो सङ्घर्षको क्रममा व्यवहारमा ल्यायौं र साँच्चै निकै महत्वपूर्ण भएको अनुभव गर्यौं ।
अध्यक्ष माओः शत्रु सेनालाई विभाजित गर्ने यो उपाय हो ।
चेः यो व्यवहारलाई हामीले पछि मात्र व्यवहारमा ल्यायौं । त्यसअघि त युद्धबन्दीहरूको हामी जुत्ता र लुगा फुकाल्न लगाउँथ्यौं किनभने हाम्रा लडाकुहरूसँग जुत्ता र लुगाको अभाव थियो । तर पछि फिडेलले हामीलाई त्यसो नगर्न निर्देशन दिनुभयो ।
अध्यक्ष माओले आफ्नो गिलास उठाउनुभयो र फिडेलको सुस्वास्थ्यको कामना गर्दै टोस्ट प्रस्ताव राख्नुभयो ।
चेः छापामार युद्धको समयमा मानिसहरू राम्रोसँग खान समेत सक्दैनथे । हामीलाई बौद्धिक खानाको पनि अभाव थियो । हामीले केही पढ्न पनि सक्दैनथ्यौं ।
प्रधानमन्त्री चाओ एनलाईः जब अध्यक्ष माओ छापामार युद्ध लड्दै हुनुहुन्थ्यो, उहाँ पत्रपत्रिका ल्याउन प्रायशः मान्छे पठाउनुहुन्थ्यो ।
अध्यक्ष माओः पत्रपत्रिकालाई सूचनाको रुपमा लिनुपर्दछ । शत्रुका अखबारहरूले प्रायशः शत्रुका कामबारे सूचना चुहाउने गर्दछ । ती आफैमा एउटा स्रोत हुन् । हामीले केही हजार मानिसहरूको साथ लिएर क्रान्तिको थालनी गर्यौं । त्यसपछि हाम्रो फौजको आकार दश हजारको भयो । पछि त तीन लाखको फौज बन्यो । त्यही बिन्दूमा हामीले केही वामपन्थी गल्तीहरू गर्यौं ।लामो हिंडाईपछि तीन लाखको फौज पच्चिस हजारमा खुम्चियो । शत्रु हामीसँग कम मात्र डराउन थाल्यो । जापानले चीन कब्जा गर्दा हामीले च्याङ काई शेकसँग सहकार्य गर्न चाह्यौं । हाम्रो सङ्ख्या कम भएकाले ऊ हामीसँग डराएन । अनि ऊ हामीसँग सहकार्य गर्न तयार बन्यो । च्याङ काई शेकको इच्छा जापानलाई लगाएर हामीलाई सिध्याउने । तर जापानविरोधी लडाईको क्रममा हामी दुई हजारबाट दश लाखको सङ्ख्यामा पुग्यौं । त्यसो होला भनेर च्याङ काई शेकले अपेक्षा गरेको पनि थिएन । जापानले आत्मसमर्पण गरेपछि च्याङ काई शेकका चालिस लाख सेनाले हामीमाथि हमला गर्न थाल्यो, हामीसँग जम्मा दश लाख सेना थियो । आधार क्षेत्रमा दश करोड जनसङ्ख्या थियो । साढे तीन वर्षको अन्तरालमा हामीले च्याङ काई शेकलाई पराजीत ग¥यौं । त्यो अवधिको युद्ध भने छापामार युद्ध थिएन । त्यो ठूलो आकारको लडाईं थियो । तपार्इंको लेखमा उल्लेख भएजस्तै विमान, तोप, ट्याङ्कहरू सबैले कुनै लछारपाटो लगाउन सकेनन् । च्याङ काई शेकसँग ती सबै हतियार थिए तर हामीसँग ती कुनै पनि हातहतियार थिएनन् । पछि मात्र हामीले केही तोपहरू कब्जामा लिएका थियौं ।
प्रधानमन्त्री चाओ एन लाईःअन्तिम समयमा त हामीले ट्याङ्कहरू पनि कब्जा गर्यौं ।
अध्यक्ष माओः हामीले विशेष गरी तोपहरू कब्जा ग¥यौं । फलतः हामी तोप चलाउने सैनिकहरूको डिभिजन नै बनाउन सफल भयौं । तोप ब्रिगेडहरू अथवा तोप रेजिमेन्टहरू बनायौं । ती सबै अमेरिकी हतियारहरू थिए ।
प्रधानमन्त्री चाओ एन लाईः बेइजिङ पनि मुक्त भए पश्चात हामीले परेड आयोजना ग¥यौं । त्यहाँ प्रदर्शन गरिएका सबै हतियार अमेरिकी थिए । त्यत्ति बेलासम्म अमेरिकीहरू फर्किसकेका थिएनन् । त्यो परेड अवलोकन गर्न अमेरिकी दुतावासका अधिकारी र सैनिक सहचरी पनि सहभागी थिए ।
चे ग्वेभाराः युद्धमा होमिएका शुरुको समयमा मैले नेतृत्व लडाकुहरूको सङ्ख्या मुश्किलले एउटा कम्पनी थियो । जब हामीले ट्याङ्क कब्जा गर्न सफल भयौं, हामी सबै निकै हर्षित भयौं । तर फिडेलले त्यो ट्याङ्क अन्यत्र लान चाहनुभयो । म बेखुस भएँ । म बाजुका (ट्याङ्कको प्रतिरोध गर्ने छोटो दुरी मारक हतियार) को सट्टामा मात्र त्यो ट्याङ्क दिन तयार भएँ ।
अध्यक्ष माओः हरेक दिन आकाशमा विमानहरू लगातार उडिरहेका हुन्थे तर उनीहरू मुस्किलले कसैलाई घाइते बनाउन सक्थे । सबै लडाकुहरू हरियो रङ्गको पहिरनमा हुन्थे । हरियो रङ्गको पहिरनले कसैको पनि रुपमा परिवर्तन देखिन्थ्यो । तपाईहरू सबै सैनिक पोशाकमा हुनुहुन्थ्यो ।
तपाईहरू सबै सिपाही हुनुहुन्थ्यो ।
ग्वेभाराः रोड्रग्युज (सहायक विदेश मन्त्री) त्यत्तिबेला हामीसँगै हुनुहुन्थेन । उहाँ कारागारमा लडिरहनुभएको थियो ।
अध्यक्ष माओः (रोड्रग्युजलाई संकेत गर्दै) तपाई त निकै कलिलो देखिनुहुन्छ त ।
रोड्रग्युजः २५ वर्षको भएँ ।
अध्यक्ष माओः (मोरा र सुनोललाई संकेत गर्दै) तपाईहरू सेनामा हुनुहुन्थ्यो ?
ग्वेभाराः मोराको पिताजी युद्धको मैदानमा गोली लागि सहिद बन्नुभएको थियो । सुनोलको शरीरको ६ वटा अङ्गमा तीन पटक चोट लाग्यो । म आफै पनि दुई पटक घाइते भएको भएँ । रोड्रग्युजलाई कारागारमा निकै यातना दिइयो । शुरुमा त हामी निकै थोरै मानिसमात्र थियौं । फिडेल आफै आफ्नो बन्दुकले लड्नुहुन्थ्यो । हामी जम्माजम्मी बाह« जना मानिस थियौं ।
अध्यक्षः तपाईहरू अस्सी जना हुनुहुन्थ्यो नि होइन र ?
ग्वेभाराः त्यो सङ्ख्या क्रमशः घट्दै गयो । अन्तमा त जम्मा बाह« जना बाँकी भयौं ।
अध्यक्षः तिनै बाह« जना बीउ बने । तपाईको ठाउँको तापक्रम निकै राम्रो हुनुपर्छ ।
ग्वेभाराः क्युवाको उत्तरतिर २२ डिग्री छ ।
अध्यक्षः तपाईहरूको भूमि पनि त अब्बल रहेछ नि ।
ग्वेभाराः क्युवाको सबै भूमि खेतीयोग्य छ । बलौटे क्षेत्रमा नरिवलका रुखहरूको खेती हुनसक्छ । तर पहाडतिर त्यसको खेती निकै गाह«ो छ ।
अध्यक्षः त्यसो भए तपाईको देशको जनसङ्ख्या कम्तीमा ३ करोडसम्म बढ्न सक्छ ।
ग्वेभाराः इन्डोनेसियाको जाभा टापुमा मात्र ५ करोड जना बस्ने गर्छन् ।
अध्यक्षः हामीले च्याङ काई शेकलाई धन्यवाद दिए जस्तै तपाईहरूले पनि जनरल रुबेन फाल्गुन्सिओ बाटिस्टालाई धन्यवाद दिनुपर्छ । च्याङ काई शेकले मान्छे मारेर हामीलाई राम्रो पाठ सिकाए ।
अल्बर्टो मोरा बिसिराः हामी पनि बाटिस्टा प्रति आभारी छौं किनभने उनले धेरै जनतालाई हाम्रो पक्षमा धकेल्ने काम गरे ।
अध्यक्षः हाम्रो अर्को पनि शिक्षक छ । त्यो हो–साम्राज्यवाद । साम्राज्यवाद हाम्रो लामो समयको शिक्षक हो । सबभन्दा राम्रो शिक्षक त अमेरिकी साम्राज्यवाद हो । तपाईहरूको पनि दुई शिक्षक छन्–बाटिस्टा र अमेरिकी साम्राज्यवाद । मलाई जानकारी भएसम्म बाटिस्टा आजभोलि अमेरिकामा छन् । के उनी पुनरागमनको कुरा सोचिरहेका छन् ?
ग्वेभाराः बाटिस्टका समर्थकहरू आजभोलि ५ वटा गुटमा विभाजित भएका छन् । उनीहरू सबै गुटबाट जम्माजम्मी ५ जना राष्ट्रपति पदका उम्मेदवार घोषणा गरिसकेका छन् । ती सबै पाँचै जना उम्मेदवारहरूको विचार एक अर्कोसँग नितान्त भिन्न छ । कोही बाटिस्टाको विरोध गर्छन् भने कोही धेरै–थोरै बाटिस्टा जस्तै व्यवहार गर्ने गर्छन् ।
अध्यक्ष माओः उनीहरू बाटिस्टा हेरी केही पनि होइन । बाटिस्टा आजभोलि कति वर्षका भए ?
ग्वेभाराः ६० वर्षका भए ।
अध्यक्ष माओः हाम्रा च्याङ काई शेक आजभोलि ७४ वर्षका भए । बेइजिङ फर्कन उनी दिनदिनै अनेक चाल चालिरहेका छन् ।
मोराः ती तीनै जना उम्मेदवारहरू पार्टीका नेताहरू हुन् । जनतालाई उनीहरूको नाम थाहा छ र उनीहरू पनि दिनदिनै क्युवा फर्कन अनेक चालबाजी रच्ने गर्छन् ।
ग्वेभाराः हामीले विजय हासिल गरेको चार–पाँच दिन पछि मध्य अमेरिकाबाट क्युवाको लागि आए । उनीहरू बाटिस्टालाई अपदस्थ गर्ने भन्दै आएका थिए । तर उनीहरूलाई हामीले क्रान्तिमा सफलता हासिल गरेको कुरा जानकारी पनि भएन ।
अध्यक्ष माओः मध्य अमेरिकामा धेरै देशहरू छन् । मेरो विचारमा डोमिनिकन गणराज्य विश्वासयोग्य छ किनभने त्यहाँका जनता राफेल लिओनिदास त्रुजिल्लो मोलिनाविरुद्ध एक भएर लडेका थिए ।
ग्वेभाराः त्यो भन्न गाह्रो छ । त्रुजिल्लो ल्याटिन अमेरिकाका निकै परिपक्व तानाशाह हुन् । अमेरिकीहरू सबै तिनलाई धुलो चटाउने विचारमा छन् ।
अध्यक्षः अमेरिकीहरू त्रुजिल्लोलाई मनपराउँदैनन् ?
ग्वेभाराः सबै उनको विरोधमा छन् त्यसकारण उनलाई फाल्नुपर्दछ ।
प्रधानमन्त्री चाओ एन लाईः दक्षिण भियतनामी नेता नो दिन्ह दियम र दक्षिण कोरियाली नेता सिङ्मन रिलाई जस्तै ।
अध्यक्ष माओः नो दिन्ह दियम त आज सबभन्दा पीडामा छन् ।
प्रधानमन्त्री चाओ एन लाईः दलालको जीवन त्यत्ति सजिलो हुने गर्दैन ।
अध्यक्ष माओः अमेरिकीहरू अहिले च्याङ काई शेकलाई मन पराउँदैनन् । हामी उनीका प्रशंसक बनेका छौं । शतप्रतिशत अमेरिका पक्षधरहरू च्याङ काई शेक भन्दा खराब हुन् किनभने च्याङ काई शेक ९९ प्रतिशत मात्र अमेरिकाको दलाल हो । उनी फेरि पनि आफ्नो प्रभाव जोगाउन चाहन्छन् ।
प्रधानमन्त्री चाओ एन लाईः यो द्वन्द्ववाद हो ।
कमाण्डर इड्डी सुनोलः मलाई लाग्छ तपाईहरू फेरि पनि च्याङ काई शेकको आशा गरिरहनुभएको छ ।
अध्यक्ष माओः यदि उनले अमेरिकासँग आफ्नो सम्बन्ध तोडेको अवस्थामा हामी उनलाई सरकारमा स्थान दिन तयार छौं ।
प्रधानमन्त्री चाओ एन लाईः उनले ताइवानलाई सँगै ल्याउन सके त झनै राम्रोे भयो ।