कलाघर (२०७६) मा स्थापना भएको नाटक घर हो । २०७१ देखि नाट्य क्षेत्रमा क्रियाशील गोविन्द सुनारको अगुवाईमा स्थापित नाट्य संस्था हो । ‘ज्ञ’ थियटरमा सुनिल पोखरेलबाट प्रशिक्षण, ‘शैली ’ थियटरमा ६ महिना अभिनय, ‘मण्डला’मा स्वयमसेवक, ‘पुरानो घर’ मा ६ महिना प्रशिक्षण लिएपछि आत्मविश्वास र नाट्य क्षेत्रको ज्ञानमा निखरतावोधपछि गर्भछिटा, पम्फाफूलमा जोडिएका हुन् गोविन्द सुनार । अन्तर्राष्ट्रिय नाट्य प्रदर्शनीमा निकै चर्चित गर्भछिटामा अभिनेताको भूमिका निर्वाह गरी प्रशंसा बटुलेका सुनारले जुम्ला पम्फाफूल नाटकको मञ्चन गरिरहेका छन् । कार्तिक १ गतेबाट सुरु भएको यो नाटक प्रदर्शनी ८ गतेसम्म जारी रहने छ । जुम्लाको निर्माण व्यवसायी संघको हलमा हरेक दिन साँढे तीन बजेबाट एक शो प्रदर्शनी भइरहेको छ । पम्फाफूलको लेखन, निर्देशन र अभिनयको कार्यमा सरिक गोविन्द सुनारसँग गरिएको छोटो कुराकानीः
सवै तस्वीरः सरोज शाही
.jpg)
पम्फाफूल नाटकको मूल विषयवस्तु के हो ?
धनसम्पत्तिको नाममा मानवीयता विर्सिएका छौँ । दाजुभाई, इष्टमित्र, माया, ममता विर्सिएका छौँ । हाम्रो मेलमिलाप, सद्भाव खलवलिएको छ । त्यो नाटकबाट देखाएका छौँ । पम्फाफूल वास्तवमा राक्षसीपना त्यागेर मानवीयताका लागि सरिक हुन सार्वजनिक आव्हान हो ।
पम्फाफूलको नाट्य परिवेश कस्तो छ ?
नाटकको परिवेश जुम्लाकै छ । नाटकका लागि परम्परागत आँगाको उपयोग गरेका छौँ । पात्रहरु खस भाषामै सम्वाद गर्छन् । कर्णालीको जीवनगाथा नाटकमा आउँछ ।
पम्फाफूलको लेखन, निर्देशनसहित प्रदर्शनीको पक्ष कसरी व्यवस्थापन गर्नुभएको छ ?
यो नाटकको लेखन हिरा विजुली र निर्देशन मैले आफै गरेको हुँ । यो नाट्य संगीत एकाडेमीको नेपाल नाट्य महोत्सवमा प्रदर्शन भएको पनि हो । नाट्य महोत्सवमा प्रदर्शनी हुँदाको वेलाभन्दा नाटकमा थुप्रै सुधारहरु पनि भएका छन् । यो नाटकका लागि जुम्लाका स्थानीय कलाकारहरुलाई एक महिना वर्कशप गरेर, तालिम दिएर प्रदर्शनी योग्य बनाइएको छ ।
.jpg)
जुम्लामा नै किन यो नाटक प्रदर्शन गर्ने सोच्नु भयो ?
कर्णालीमा नाट्यकर्मीहरु छन् । तिनले काठमाडौँ र वाहिरको मञ्चमा राम्रो प्रस्तुती गरेका छन् । काठमाडौँका मञ्चहरुमा नाटकको सन्देश र विषयवस्तुभन्दा परिवेश र कथाको भिन्नतालाई रुचाइन्छ । जुम्लाको परिवेशको नाटक जुम्लामै प्रदर्शन गर्दा यहाँ मानिसहरुले सन्देशलाई बोक्छन् । स्थानीयतालाई नाटकमा छाम्छन् । रुन्छन् । हाँस्छन् र सिक्छन् । यो अवसर जुम्लामा हुनु मेरो लागि धेरै ठूलो कुरो हो ।
पम्फाफूलका दर्शकहरुको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
जुम्लामा नाटक हेर्ने कुनै अभ्यास नै छैन । जुम्लाका दर्शकहरुलाई लागि सडक नाटकहरु भएपनि यति व्यस्थित थियटर नाटकको अभ्यास नै छैन । यसले एउटा नयाँ स्वाद र परिवेशमा दर्शकलाई पुर्याएको छ । यो नाटक हेर्न राराबाट फर्किने पर्यटकहरु पनि आइरहेका छन् । नाटकका लागि जुम्लाले न्यानो आत्मियता र आशिर्वाद दिएको छ ।
जुम्लामा कलाघरको भावी योजना के छ ?
जुम्लाको भाषा, साहित्य, संस्कृतिमा ऐतिहासिक भूमिका छ । त्यो भूमिकाको इतिहासलाई कलाघरले प्रवद्र्धन र विकास गर्नेछ । यदि सरकार र स्थानीय निकायले चाहे भने कर्णालीको खस, भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धनको कार्यलाई पर्यटनसँग पनि जोड्न सकिन्छ । २०२० मा कर्णालीमा आउने हरेक पर्यटकका लागि नाट्य प्रदर्शनी व्यवस्थित गर्न पनि सकिन्छ ।
.jpg)