सुर्खेत । भौगोलिक रुपमा विश्वका साना १० राष्ट्रहरुभन्दा ठूलो क्षेत्रफल ओगटेको कालिकोटको पलाता गाउँपालिका नेपालका अति विकट र अल्पविकसित क्षेत्रमध्ये एक मानिन्छ । स्थानीय तहको निर्बाचन भएपछि त्यहाँ निर्बाचीत जनप्रतिनिधिले तीनवटा नीति तथा कार्यक्रम साथै बजेट विनियोजन गरे । भोकमरी र सुख्खा क्षेत्र भनेर चिनिने पलाता गाउँपालिकाका लागी त्यहाँको सरकारले के के काम गर्यो त ? यस विषयमा गाउँपालिका अध्यक्ष लक्ष्मण बमसंग यार्सान्युजका प्रतिनिधिले कुराकानी गरेका छन् । प्रस्तुत छ अध्यक्ष बमसंग गरिएको कुराकानीको सम्पादित अंशहरु:
पलाताको विकास र सम्वृद्धिका लागि तपाईले गरेका उल्लेख्य कामहरु के के हुन् ?
पलाताको सम्वृद्धिका लागि विशेष गरि हामीले रोजगारीका लागि उत्पादन,अर्थतन्त्र विकासका लागि उत्पादनलाई पहिलो प्राथमिकतामा राख्यौं र त्यो सँगै शिक्षा,स्वास्थ्य,विद्युत,यातायात,पूर्वाधारका क्षेत्रलाई अगाडि बढायौं । मुख्यतयाः हामीले रोजगारीलाई जोडेर उत्पादन गर्यौं । उत्पादन नै सम्बृृद्धिको मुख्य आधार हो भनेर हामीले नीति तथा कार्यक्रम ल्यायौँ । यसरी उत्पादनका क्षेत्रलाई मजबुद बनाउनको लागि कार्यक्रम र उत्पादन भएका चिजहरुलाई बजारीकरण जस्ता कुरालाई जोडेर काम गर्यौं । सम्बृद्धिका लागि उत्पादनका क्षेत्रहरुका साथै शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी,सरसफाई, रोजगारीजस्ता क्षेत्रमा कामहरु गर्यौं ।
तपाईले सैद्धान्तिक रुपमा नीति तथा कार्यक्रमका कुराहरु गर्नुभयो । ठोस रुपमा पलाताको सम्वृद्धिका लागि शिक्षा,स्वास्थ्य,सडक,कृषी, खानेपानी,सरसफाई जस्ता क्षेत्रमा ठोस कार्य के के गर्नुभयो ?
शैक्षिक क्षेत्रमा नीजिकरणलाई अन्त्य गर्यौं । १३ वटा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने वातावरणको व्यवस्था गर्यौं । भवन नभएका विद्यालयका भवन निर्माण गर्यौं । प्रायः विद्यालयमा खेल मैदान,कम्प्युटर ल्याब,विज्ञान प्रयोगशाला स्थापनाका लागि कार्यक्रमहरु अगाडी बढायौं । दुइवटा विद्यालयमा कृषी विषय अध्यापनको वातावरण सिर्जना गर्यौं । गरिब,विपन्न,असहाय बालबालिकाको पढाइका लागि आवासीय विद्यालय निर्माणको प्रक्रियालाई अगाडी बढायौं । त्यो विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब आउने शैक्षिक सत्रमा यो संचालन हुन्छ । शिक्षामा भइरहेको बेथिती हटाउने काम गर्यौं । स्वास्थ्यमा क्षेत्रमा प्रत्येक वडामा समान पहुँचमा स्वास्थ्य नागरीकको अधिकार हो भन्ने नारालाई मुर्तरुप दिन पाँच वटा जनस्वास्थ्य केन्द्र स्थापना गर्यौं पहिलो बर्षमा नै यो निर्णय गर्यौं । १५ शैथ्याको हस्पीटल स्थापनाका लागि हामीले दर्ता प्रक्रिया पुरा गर्यौं । अब भवनको निर्माण कार्य भइरहेको छ । यसलाई आगामी फागुन १ गते उद्घाटन गर्ने योजना बनाएका छौं । सडक निर्माणको कुरा गर्दा हामीले अहिलेसम्म ७ वटा वडामा सडक पुर्याएका छौं । हाम्रो सबै वडामा सडक पुर्याउने कोशिस जारी छ । तर सबै वडामा सडक पुर्याउन ५० करोडभन्दा बढी बजेटको आवश्यकता पर्छ । अब सडक पुग्न बाँकी रहेका वडामा पनि केन्द्र र प्रदेश सरकारसंग छलफल गरेर बजेटको व्यवस्था भएमा पुर्याउने योजना छ । कृषि क्षेत्रको विकासका लागि सबै वडामा सिंचाइँ कुलोको व्यवस्था गरेका छौं । सिंचाइँ कुलो निर्माणमा अप्ठ्यारो ठानिएको खिनमा पनि सिंचाइँको व्यवस्था गर्यौं । सिंचाइँको व्यवस्था भएपछि सबै वडामा ओखर र स्याउको बिरुवा उत्पादनमा जोड दिएका छौं । ओखर र स्याउका हजारौं बिरुवा अहिले किसानहरुले रोपेका छन् । एउटा वडाले १२ हजारसम्म बिरुवा उत्पादन गरेका छन् । पशुपालन क्षेत्रको कुरा गर्दा भैसिपालनलाई पहिलो प्राथमिकता दिएका छौं । त्यस्तै भेडाबाख्रा पालन कार्यक्रम पनि यो क्षेत्रको महत्वपूर्ण कार्यक्रम हो । भैंसी पालन व्यवसायलाई प्रोत्साहन गर्न भैंसी वितरण गर्ने योजना छ । त्यसैगरि खानेपानीको समस्याले ग्रस्त पलाता क्षेत्रमा अहिले खानेपानीको समस्या आधारभूत रुपमा हल गर्यौं । अहिले खानेपानीको समस्या छैन । सबै वडाका जनतालाई खानेपानीको व्यवस्था गर्नु पलाता क्षेत्रका लागि महत्वपूर्ण कुरा हो । हिजो राडुनेटाको मौरीपानी खान १३/१४ कि.मी. टाढा जानुपथ्र्यो । हामीले त्यहाँ २३ कि.मी. टाढाबाट ९० एम.एमको पानी ल्याएर खानेपानीको समस्या हल गर्यौं । अहिले घरघरमा पानीको व्यवस्था छ । असार मसान्तसम्म सबै वडाका घर घरमा खानेपानीको धारा पुग्छ । खानेपानीको व्यवस्था भएमा सरसफाइ पनि त्यही आधारमा हुने कुरा भइहाल्यो । सफा र स्वच्छ खानेपानी जनताको अधिकार हो भन्ने कुरालाई हामीले व्यवहारमै लागु गरेका छौं । त्यस्तै बिद्युतमा पनि पलाता आत्मनिर्भर हुने अवश्थामा छ । २५० किलोवाट बिद्युत उत्पादन गरेका छौं । अब १ मेगावाट विद्युतको काम अगाडी बढाएका छौं । यो निर्माण भएमा पलाता विद्युतका लागि आत्मनिर्भर हुन्छ ।
पलातामा गाउँपालिकाको प्रशासनिक कार्यमा वाहेक उद्योग, कृषि क्षेत्रमा कति रोजगारी सिर्जना गर्नुभयो ? पलातामा पलाताको उद्यमशीलतामा निर्यात गर्न सक्ने कुनै उद्योगको विकास भयो ?
पलातामा अहिले नै उद्योग धन्दा कलकारखानको विकास हुने कुरा होइन । तरपनि हामीले ७ सयलाई विभिन्न तरीकाले रोजगारी दिएका छौं । अबको आर्थिक बर्षमा शसक्तिकरणका लागि प्रत्येक वडामा ५० जनाका दरले युवायुवतीलाई रोजगारी दिने योजना छ । २ सय जनस्वयंसेवक बनाएर रोजगारी दिएका छौं । विकास निर्माणको क्षेत्रमा काम गर्ने जनशक्तिले रोजगारी पाएको छ । विभिन्न योजनाहरुमा रोजगारी सिर्जना गर्दै काम गर्ने वातावरण सिर्जना भएको छ ।
तपाईको कार्यकालको समीक्षा अवधि सुरु भैसक्यो । आफैले आफैलाई समीक्षा गर्दा पलाताको आमूल परिवर्तन गर्न तपाईको गाउँकार्यपालिका कति सफल भएजस्तो लाग्छ अहिलेसम्म ?
७० प्रतिशत जति सफल भएजस्तो लाग्छ । हामीले स्थानीय सरकारको अनुभूति हुनेगरि ७० प्रतिशत काम गरेका छौं भन्ने लाग्छ । सिचाइँ, खानेपानीका आयोजनाको कुरा गर्ने हो भने केन्द्र सरकारले गर्न सकेको थिएन त्यो हामीले गर्यौं । यसअर्थमा म सफल भएको छु । सडक नभएको ठाउँमा सडक बनाएर गाडी समेत संचालन गर्यौं । यो हाम्रो सफलता हो । यसरी हेर्दा हामी सफल भयौं भन्ने लाग्छ । हामी मात्र सफल भएर हुँदैन । जनताले नै आधारभूत रुपमा सफल भएको मुल्यांकन गरेका छन् । जनताका समस्या समाधान गर्नु,जनता खुशी हुनु भनेको हामी सफल हुनु हो ।
तर सडकजस्ता पूर्वाधारका नाममा डोजर आतंक सिर्जना गर्ने,आफ्नै घरमा कार्यालय संचालन गर्ने, विकास आयोजनामा भ्रष्टाचारजस्ता आरोप लगाएर तपाई आफ्नो पार्टीबाट कारवाहीको प्रचारवाजीमा पनि पर्नुभएको थियो ? यसको वास्तविकता के हो त ?
ममाथि लगाइएका जति पनि आरोपहरु थिए, ती सबै गलत हुन् । मलाई आरोपित गर्दा पार्टीले निलम्बन गर्नसम्म भ्यायो । तर आरोप पुष्टी भएनन्, अन्ततः ममाथि लगाइएका आरोप तथाकथित हुन् भन्ने पार्टीले पनि बुझ्यो । हुनत हाम्रै पार्टीका नेताहरुले म माथि ढुंगामुढा गरे । तर पछि उनीहरुले आफूबाट भएका कमजोरी स्वीकार्नु पर्ने अवस्था सिर्जना भयो । मैले गलत गरेको भए त ममाथि पार्टीले कारबाही गथ्र्यो नी त । तर ममाथि लागेका आरोपहरु गलत भएका कारण पछि यसको समाधान भयो। मैले जनयुद्धमा दुःख पाएका कार्यकर्तालाई राहत हुने खालका योजना बनाएँ । शहिद परिवार,घाइते परिवार,जनमुक्ति सेनाका साथीहरुलाई राहत हुने खालका योजनाहरु बनाएँ । अर्थात् मैले जनतालाई मन पर्ने लोकप्रिय योजना र कार्यक्रमहरु बनाएँ । त्योबाट हेर्दा ममाथि आक्रमण गर्ने साथीहरु लक्ष्मण बम अब पलाताको नेता हुने भयो भनेर आत्तिएका हुन् नी त । लक्ष्मण बम गाउँमा आउँदा गेट किन बाँधिन्छ ? फूलमाला र अबिरजात्रा किन गरिन्छ ? भनेर आक्रोश व्यक्त गरे नी त ती साथीहरुले । उनीहरु आत्तिएर ममाथि हुँदै नभएका आरोपहरु लगाए । आज उहाँहरु थाक्नुभयो । अहिले चुप लाग्नुभयो । त्यसर्थ सडकजस्ता पूर्वाधारका नाममा डोजर आतंक सिर्जना गर्ने,आफ्नै घरमा कार्यालय संचालन गर्ने, विकास आयोजनामा भ्रष्टाचार गर्यो भन्ने जस्ता आरोपहरु अहिले असत्य साबित भइसके । गाउँपालिकाको कार्यलय त कहिँ न कहिँ राख्नैपथ्र्यो । त्यसका लागि अफिस राख्ने खालको घरको आवश्यकता थियो । त्यो अन्यत्र थिएन । त्यसर्थ राखिएको हो । आरोप लगाउने साथीहरु अहिले पुष्टी गर्न नसकेपछि चुप लागेका छन् । पार्टीले ममाथि गरेको निलम्बन पनि फुकुवा गरिसक्यो । यसकारण ठोकुवा गर्न सकिन्छ कि ममाथि लगाइएका आरोपहरु तथाकथित आरोप हुन् ।
उसो भए तपाईको गाउँपालिकामा भ्रष्टाचार, अनियमितता जस्ता कुराहरु शुन्य छन् भन्दा हुन्छ त ?
अहिलेसम्म त्यस्ता घटनाहरु छैनन् । कहिकतै चुहावट भएको हो कि भन्ने सुचना पाइयो भने तुरुन्त त्यसको बारेमा जानकारी लिएर मैले भ्रष्टाचार, अनियमितताजस्ता कुरा हुन दिएको छैन । बरु जो साथीहरुले मलाई आरोप लगाउनुभयो भ्रष्टाचार गर्यो भनेर,उनै साथीहरुले गाउँपालिकाबाट लिएको योजनामा अनियमितता भएको देखियो । त्यसबारे मैले समाधान गर्न खोज्दा ममाथि आक्रमण भएको हो । मैले त्यसको छानवीन गर्नुपर्छ भन्दा उनीहरुले आफ्नो बद्नाम हुने देखेर ममाथि आरोप लगाउनुभयो । आक्रमण गर्नुभयो । नाराजुलुस लगाउनुभयो । तर यथार्थता त्यस्तो थिएन । आफूले गलत गर्ने अनि दोष अरुमाथि त लगाउन मिलेन नी त । पछि उनीहरुले आफ्नो कमजोरी स्वीकार्नुभयो । आशंका लागेका ठाउँमा छानवीन गर्दा हामीले अहिलेसम्म त्यस्तो प्रमाण भेटाएका छैनौं ।हामीले शुसासन र पारदर्शितालाई विशेष ख्याल गरेका हुनाले त्यस्तो देखिने गरि भ्रष्टाचार र अनियमितता भएका घटनाहरु छैनन् । लगभग शुन्य सहनशिलतामा पलाता गाउँपालिकाले काम गरेको छ भन्दा फरक पर्दैन ।
संसारको सवैभन्दा साना १० मुलुकभन्दा पलाता गाउँपालिका ठूलो छ । यसरी हेर्ने हो भने पलाता आफैमा सानो क्षेत्र होइन । पलाताको विकास र समृद्धिका लागि मुख्य चुनौती र सम्भावनालाई कसरी संश्लेषण गर्नुभएको छ ?
भौगोलिक कठिनाइ पलाताको मुख्य चुनौती हो । यसले सडक र सिंचाइँ योजना निर्माणमा सानो बजेटले ठूला योजनाहरु कार्यन्वयन गर्न सक्ने स्थिति छैन । संभावना पनि त्यत्तिकै छ । मैले यो प्रश्नको उत्तर माथि पनि दिइसके । कृषी उत्पादन र पर्यटन क्षेत्र सम्बृद्धिको लागी संभावनाका क्षेत्र हुन् । जहाँ समस्या छन् त्यहाँ संभावना पनि हुन्छ । पलाता प्रचुर संभावनाको क्षेत्र पनि हो र चुनौतीको क्षेत्र पनि हो ।
विद्यमान अवस्थामा पलाता लगायत देशभरिका धेरैजसो स्थानीय तहहरु संघको अनुदान तथा सहयोगमा चलिरहेका छन् । यदि परिकल्पना गरौं कि पलाता केन्द्रको बजेट अनुदान विना नै आत्मनिर्भर भै चल्नु पर्यो भने त्यो आत्मनिर्भरता हासिल गर्न पलातालाई कति बर्ष लाग्ला र के गर्नु पर्ला ?
पलाता आत्मनिर्भर हुन केही समय लाग्छ । अहिले नै यत्ति नै समय लाग्छ भनेर भन्न सकिने अवश्था त छैन । तर १० बर्षभित्र पलाता आत्मनिर्भर हुने बाटोमा अगाडी बढ्छ । फलफुल,बिद्युत,पशुपालन पलाताको आयश्रोत हुनसक्छ । अबको १० बर्षपछि पलाता गाउँपालिकाका बासीन्दाको आधारभूत समस्याहरु हल हुने दिशामा जान्छन् । पलाता हुँदै रारा पुग्ने सडक निर्माण भयो भने पर्यटन व्यवसाय पनि यो पालिकाको आयश्रोत बन्नसक्छ । अर्कोकुरा उत्पादनका क्षेत्रहरु नै पलाता आत्मनिर्भर बन्ने आधार हो । यसमा आगामी दिनमा पनि ध्यान दिन सक्यौं भने पलाता आत्मनिर्भर बन्ने बाटोमा अगाडी बढ्न सक्छ ।
पलाता गाउँपालिकाले बार्षिक कर कति उठाउँछ ? बताइदिनुहोस् न ।
सुरुका दुई बर्षमा हामीले कर नै उठाएनौं । किनकी पलाताका जनतामा कर तिर्न सक्ने अवश्था नै थिएन । तर गतबर्षदेखि हामीले कर उठाउन थाल्यौं । बढीमा ८÷१० लाख मात्र उठ्यो होला । कर उठाएर जनताको ढाड सेक्ने कुरा होइन । यो कुरा बिस्तारै गर्ने हो । जब पलातामा उद्योगधन्दा फस्टाउलान्, जब जनताको आयश्रोत बढ्ला तबमात्र कर तिर्न सक्लान् । अहिले पलाता आत्मनिर्भर नभइराखेको अवश्थामा कर धेरै उठ्ने संभावना रहँदैन । कर तिर्न सक्नेले मात्र अहिले कर तिरेका छन् । अभाव र गरिबीले पिल्सीएका जनतालाई हामीले कर निर्धारण गरेर अप्ठ्यारो पार्ने काम गरेनौं । त्यसकारण कर थोरै उठ्यो ।
पलाताको सभ्यता र समाजको संरक्षण गर्नुपर्ने र रुढिवादी, भत्काउनु पर्ने सामाजिक सम्बन्धहरु के रहेछन् र के गर्नु भयो ?
तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धका कारण जातिगत र छाउपडी प्रथा त्यति क्रुर रुपमा छैन हाम्रो गाउँपालिकामा । तरपनि रुढीवादी परम्परालाई पूर्णरुपमा अन्त्यका लागि अभियानहरु संचालन गरिरहेका छौं । सामाजिक जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छौं । किशोरीमा आउने समस्याहरुका बारेमा अभियानात्मक रुपमा कार्यक्रमहरु अगाडी बढाएका छौं । रुढीवादी र भत्काउनै पर्ने जब्बर सामाजिक समस्याहरु गाउँपालिकामा छैनन् । भएका पनि विस्तारै परिबर्तन हुने क्रम जारी छ ।
अब अन्त्यमा तपाई फेरि पाँच बर्षका लागि गाउँपालिकाको अध्यक्ष बन्न लालायित हुनुहुन्छ भन्ने कतिपयले कुरा गरेको सुनिन्छ,के त्यो सत्य हो ?
अब म फेरि गाउँपालिका अध्यक्षका लागि लड्दैन,प्रदेशको सांसदका लागि लड्छु । पार्टीले अध्यक्षको टिकट जसलाई दिन्छ म त्यसलाई पूर्ण रुपमा सहयोग गर्छु । अध्यक्ष बनेर अब मलाई पुग्यो । म हरेक कुरामा अबको गाउँपालिकामा लड्ने पार्टीको उम्मेद्वारलाई सहयोग गर्ने हो । अरुको जस्तो ढुंगा हानेर आफ्नै पार्टीका सहयोद्धालाई असहयोग गर्ने मेरो नैतिकताले दिदैन । मैले अब गाउँपालिकामा जसले अध्यक्षका लागि टिकट पाउँछ उसलाई हर कुरामा सहयोग गरेर अगाडी बढ्नु मेरो कर्तव्य ठानेको छु । सहयोग गर्नका लागि म राजनीतिमा लागेको हुँ भन्ने मलाई लाग्छ । म फेरि गाउँपालिका अध्यक्ष लड्दैन । पार्टीले नै मलाई गाउँपालिका अध्यक्ष लड्नुपर्छ भनेर टिकट दियो भने त्यसमा सोच्न सकिने होला तर मलाई अब गाउँपालिका अध्यक्ष बन्ने रहर छैन । प्रदेश सांसद बन्ने हो ।